पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले दुधको परिकारको बिक्री वितरण शुरु गरेको छ ।संस्थाले शुरु गरेको दुग्ध परिकार बिक्री कक्षको मंगलवार वडा अध्यक्ष चतुरबाबु वाग्लेलेउद्धाटन गर्नुभएको हो ।
बिक्री कक्षको उद्धाटन गर्नुहुँदै वडा अध्यक्ष वाग्लेले दुग्ध परिकार मानव स्वास्थ्यका लागि बरदान जस्तै भएको भन्दै नियमित सेवन गर्नुपर्ने बताउनुभयो । अन्य पेय पदार्थ र पौष्टिकका तत्व बढी हुने नाममा बट्टामा राखिने खाद्य वस्तुभन्दा दुध, दही,घ्यु खाने गर्दा बढी फाईदा हुने उहाँको भनाई छ । ‘दुग्धजन्य पदार्थको सेवनले शरीरलाई फाईदा हुने त छंदैछ, वडा अध्यक्ष वाग्लेले भन्नुभयो, दुधको प्रयोग बढ्यो भने किसान र कृषि पेसामा पनि योगदान पुग्छ ।’
बिक्री कक्षको उद्धाटनपछि डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन गरेको दुध, दही, मोही,घ्यु, नौनी, पनिर, खुवालगायतका परिकार अब साना किसान सहकारी संस्थाको कार्यालय बडहर्वामा नै पाइने भएको छ ।कार्यक्रममा बोल्दै डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष होमनाथ पंडितले दुग्ध उत्पादनमा लाखौं किसानको जीवन जोडिएको र यो पेसामा अरबौंको लगानी रहेको बताउनुभयो । दुधसंग किसानको खुशी र समृद्धिपनि जोडिएको बताउँदै अध्यक्ष पंडितले दुध उत्पादन व्यवसाय स्वरोजगारको बलियो माध्यम भएको पनि बताउनुभयो ।
यसैगरी साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्काले अब नियमित रुपमा संस्थामार्फत दुधका परिकार सरल तरिकालेसुलभ मूल्यमा बिक्री वितरण शुरु भएको बताउनुभयो । संस्थाका सदस्य किसानले उत्पादन गरेको दुग्धका परिकार स्थानीय रुपमै उपलब्ध गराउने हेतुले बिक्री कक्षको स्थापना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
हाल संस्थामा घ्यु, नौनी, पनिर र मोही उपलब्ध रहेको र अन्य परिकार पनि अडर अनुसार उपलब्ध गराइने बताइएको छ ।
कार्यक्रममा डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष पंडित, उपाध्याक्ष नारायण घिमिरे,कोषाध्यक्ष निलकण्ठ सापकोटा, लेखा समिति संयोजक तेजप्रसाद चौलागाई, संचालक समिति सदस्य शिवकुमार कार्की,सल्लाहकार विजय मैनाली,प्रबन्धक संतोष भुजेल,संकलन प्रमुख माधव अधिकारी,वरिष्ठ बजार सहायक शालिकराम पुडासैनी र साना किसान मनहर्वाका कृषि प्राविधिक जलेन्द्रप्रसाद चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीलाई दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन गरेको मोही खुवाइएको थियो ।साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष ख्डकाको अध्यक्षता र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।



















