कलैया,जनता आवास कार्यक्रम बाराका संयोजक पारस प्रसाद साहले संयोजक पदबाट राजिनामा दिनुभएको छ ।
बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को ख का प्रदेशसभा सदस्य समेत रहनुभएका साहले मङगलबार मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई राजिनामा पत्र पनि बुझाउनुभएको छ ।
जनता आवास कार्यक्रम सन्चालनका लागि बारा जिल्लाको संयोजक आफु भएपनि शहरी भवन कार्यालयका प्रमुखले गरेको मनोमानीमाथि आफुले अंकुश लगाउन खोज्दा नटेरेको, प्रदेशका मुख्यमन्त्री र सम्बन्धित मन्त्रीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरेपछि आफुले राजिनामा दिएको साहले बताउनुभएको छ ।
साहको राजीनामा पत्रमा आफू संयोजक हुँदा पनि आफनो कुरा कर्मचारीले नटेरेको, यस बारे मुख्यमन्त्री र मन्त्रीलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरिएपछि पदमा बस्न उचित नभएकाले राजिनामा दिएको भनेर उल्लेख छ ।
शहरी भवन कार्यालयका प्रमुखले विगत ८ महिनादेखि बैठक पनि नराखेको, बैठक बोलाउन पटक पटक आग्रह गर्दा पनि नटेरेको, प्रदेश सरकारबाट बारा जिल्लाको कार्यक्रमका लागि आएको रकम रकमान्तर गरेर रौतहटमा पठाएको, निर्देशिका विपरित आफनो मनोमानी तरिकाले कार्यक्रम सन्चालन गर्न खोजेको आरोप साहले लगाउनुभएको छ ।
यस बारेमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री यादव र मुख्यमन्त्री लालबाबु राउतलाई भेटेरै पटक पटक जानकारी गराउँदा पनि कार्यालय प्रमुखमाथि कुनै अंकुश नलागएको गुनासो साहको छ ।