१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि परिचालित टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको छ। नेपाली सेना, विद्युत् प्राधिकरण र सुरुङ विज्ञसहितको टोलीले तीन दिनको निरन्तर प्रयासपछि विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ पत्ता लगाएको हो।
उद्धार टोलीले अब उक्त सुरुङबाट विज्ञलाई भित्र पठाएर फसेका कर्मचारीको अवस्थाबारे जानकारी लिने तयारी गरेको छ। यसअघि भित्र हावा पठाउन पाँचवटा ड्रिल गरी अक्सिजन पुर्याउने प्रयास गरिएको थियो। प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत् गृहमा करिब ४०–४२ जना प्राविधिक जनशक्ति काम गरिरहेका बेला बाढीपछि उनीहरू सुरुङभित्र फसेका हुन्। उद्धारमा ढिलाइ भइरहेका कारण परिवार तथा आफन्तमा चिन्ता बढेको छ।















