पुष्पराज खतिवडा
मन्हर्वा – साना किसान कृषि सहकारी संघ बाराले आगामी चैत्र २० गते मनाईने ६३ औं राष्ट्रिय सहकारी दिवसमा कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ । संघको बुधबार बाराको हरैयामा बसेको पूर्ण बैठकले सहकारी दिवसमा भिडभाड हुने खालका कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

 

 

 

विश्व स्वास्थ्य संगठनले विश्व माहामारी घोषण गरेको कोरोना भाईरस (कोभिड १९)बाट सतर्क रहनु आजको आवश्यकता हो । आफ्ना सदस्य संस्थाहरुलाई भिडभाड हुने खालका कार्यक्रमहरुको आयोजना नगर्न, नगराउन आग्रह गर्ने निर्णय गरिएको संघका जिल्ला अध्यक्ष मिश्रीलाल सहनीले जानकारी दिए ।

 

 

 

“मर्यादित श्रम र पर्यटनका लागि सहकारी” भन्ने नाराका साथ ६३ औं राष्ट्रिय सहकारी दिवस भब्यताका साथ मनाउन भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले गत फागुन ११ गते मातहतका संघहरुमा पत्राचार गरेको थियो । यद्यपी वर्तमान अवस्थालाई मध्यनजर गरी हाललाई सहकारी मार्फत धेरै मानिस जम्मा गरेर गरिने सबैखाले कार्यक्रमहरु स्थगन गर्ने निर्णय गरिएको अध्यक्ष सहनीले बताए । उनका अनुसार संघले निर्णय मार्फत संक्रमणबाट बाँच्न सचेत रहन सबैमा आग्रह समेत गरेको छ ।

 

 

 

 

वि.स.२०१३ साल चैत्र २० मा चितवन जिल्लामा बखानपुर ऋण सहकारी समितीको स्थापना भई नेपालमा सहकारी अभियानको सुरुवात भएको दिनलाई ऐतिहासिक स्मरण गर्दै बर्षेनी चैत्र २० गतेका दिन राष्ट्रिय सहकारी दिवस मनाउँने गरिन्छ । कृषि संघ बारामा जिल्लाका १५० बढी कृषि सहकारी संस्था आवद्ध छन् । ती संस्थाहरुमा करिब ५० हजारबढी सदस्य परिवार आवद्ध रहेका सहनीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here