काठमाडौँ, २१ असोज । जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।

सुदन गुरुङलगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी बुझेर प्रहरीले थप अनुसन्धानका लागि भन्दै कार्की नेतृत्वको आयोगमा पठाएको हो । यद्यपि प्रहरी आफैले भने सो जाहेरी दर्ता नगरेको बताइएको छ ।परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए । “हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा अनुसन्धानका लागि पठायौँ,” प्रवक्ता भट्टराईले भने, “दर्ता नगरी आयोगको कार्यक्षेत्र पर्ने भएकाले आयोगमा पठाइदिएका हौँ । पत्र यहाँबाट आयोगमा गइसक्यो ।”

बालेन र सुदनविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली प्रहरीमा जाँदै

त्यस्तै जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध जाहेरी दिने तयारी गरेको छ । अनेरास्ववियुका महासचिव दीपक धामीको नेतृत्वमा जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौँमा जान लागेको अनेरास्ववियुका सचिवालय सदस्य तथा उपत्यका इन्चार्ज नितेश लामिछानेले रातोपाटीलाई जानकारी दिए । साभार : रातोपाटी

Leave a Reply