सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचन आइतवार हुने भएको छ ।
नगर कार्यपालिकाका आठजना कार्यपालिका सदस्य चयन गर्न निर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको नगर सभा सदस्यमा निर्वाचित एक सय २२ जनाले कार्यपालिका सदस्य चयन गर्ने छन् । पाँच जना महिला र दलित तथा अल्पसंख्यक कोटाबाट ३ जना कार्यपालिका सदस्य चयनको लागि १६ जनाको उम्मेदवारी परेको छ ।
सहायक निर्वाचन अधिकृत बारालाम खड्काका अनुसार नेकपा एमालेबाट आठ, नेकपा माओवादी केन्द्रबाट पाँच र नेपाली कांग्रेसबाट तीन जनाको उम्मेदवारी परेको हो । १६ जनाबाट महिला सदस्यतर्फ पाँच र दलित तथा अल्पसंख्यकतर्फ तीन जना निर्वाचित हुने छन् । कार्यपालिकाको महिला सदस्यका लागि उम्मेदवार बनेका सबै निर्वाचित वडा सदस्य हुन् ।
कार्यपालिकाको महिला सदस्यका लागि उम्मेदवार बन्न वडा सदस्यमा निर्वाचित हुनुपर्ने प्रावधान छ । यसैगरी निर्वाचितभन्दा बाहिरबाट ल्याउन सकिने दलित तथा अल्पसंख्यक पदका लागि एमालेबाट तीन र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ । एमालेबाट अर्जुन विक, प्रलाद साह सोनार र प्रभावती पासवान उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रले कैमुदिन मियाँ मंसुरी, शिवजी प्रसाद साह सोनार र मानबहादुर सुनार उम्मेदवार बनाएको छ । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका सोनार लोकतान्त्रिक समाजवादी पार्टीका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष हुनुहुन्छ भने सुनार नेकपा एकिकृत समाजवादीका हँनुुहुन्छ् । दुबैले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन ।
वीरगन्ज महानगरमा २० गते निर्वाचन
वीरगन्ज,वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यका लागि यही जेष्ठ २० गते निर्वाचन हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार कार्यपालिका सदस्यको निर्वाचन २० गतेका लागि तोकिएको हो । निर्वाचन कार्यतालिका अनुसार यही १६ गते मतदाता नामावली प्रकाशन गर्ने, १७ गते मनोनयन दर्ता गर्ने, १८ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह प्रदान गर्ने र २० गते निर्वाचन गरिने कार्यतालिका रहेको छ ।
मतदाता नामावली प्रकाशन र उम्मेद्वारी दर्ता कै बीच अन्तिम मतदाता नमावली सार्वजनिक, दाबी विरोध लगायतका कार्य हुने पनि कार्यतालिकामा उल्लेख छ ।
५ महिला र ३ खुल्ला सदस्य गरी कुल ८ सदस्य पदका लागि हुने निर्वाचनमा महानगरमा निर्वाचित भएका मेयर, उपमेयर तथा ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य गरी कुल १६२ जनाले मतदान गर्ने छन् ।