बारा । नेपाल पत्रकार महासंघ बारा शाखाको भवनमा समाजवादी प्रेस संगठनले शुक्रबार तालाबन्दी गरेको छ । महासंघ बाराका अध्यक्ष रेशम तिवारीले केही संगठनका पदाधिकारीहरू सँग गोप्य बैठक राखी निर्वाचन गराउन लागेकोले समाजवादी प्रेस संगठनले तालाबन्दी गरेको जानकारी प्राप्त भएको छ ।
समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य रमेश सुवेदी र जिल्ला सचिव नरेश गुप्ताको नेतृत्वमा गएको टोलीले महासंघमा तालाबन्दी गरेको हो । नेपाल पत्रकार महासंघको सदस्यताकालागि अध्यक्ष तिवारीले केही गैरपत्रकारलाई सिफारिस गरिएको आरोप लगाउँदै संगठनले महासंघमा अनिश्चितकालका लागी तालाबन्दी गरेको हो ।
यस भन्दा पहिला प्रेस चौतारी नेपालले तालाबन्दी गरीसकेको छ । अध्यक्ष तिवारीले महासंघको विधान विपरीत केही गैरपत्रकारलाई समेत सदस्यता दिन सिफारिस गरेकोले समाजवादी प्रेस संगठनले महासंघमा तालाबन्दी गर्नु परेको संगठनका केन्द्रिय सदस्य रमेश सुवेदीले जानकारी दिनुभयो ।
महासंघलाई कदापि भर्तीकेन्द्र आफुहरुले बन्न नदिने सुवेदीले स्पष्ट पारे । गैरपत्रकारलाई महासंघबाट नहटाए सम्म आफुहरु महासंघको निर्वाचन समेत हुन नदिने चेतावनी सुवेदीले दिए ।