पुष्पराज खतिवडा

मनहर्वा,सर्वोच्च अदालतले निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएपछि बारा जिल्लासहित देशभरका विकासप्रेमी जनता यतिबेला चिन्तामा छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थल बारामा बन्ने चर्चा चलेको तीन दशकपछि निर्माण प्रकृयाले गति लिँदै गर्दा सर्वोच्च अदालतबाट बिहीवारको फैसलाले रोक लगाउने कार्य भएपछि जिल्लाबासीमा चिन्ता बढेको हो ।

निर्णय सार्वजनिक भएसँगै यहाँका स्थानीय अगुवाले सर्वोच्चले त्रुटिपूर्ण निर्णय गरेर विकासमा अवरोध गरेको भन्दै विरोध गरेका छन् । जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचन्जर योजनामाथि अकल्पनीय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको पूर्वमन्त्री एवं नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलको भनाइ छ । उहाँले विमानस्थल बन्न नदिन दक्षिण (विदेशी) को ईसारामा भएको आदेशको प्रतिवाद गर्नु सबै देशभक्त नेपालीहरुको कर्तव्य हुने बताउनुभएको छ । सर्वोच्चको आदेश विकास विरोधी फर्मानको रुपमा रहेको पौडेलको भनाइ छ ।

यस्तै संघीय सांसद रामबाबुकुमार यादवले तराई÷मधेशको विकाससँग मात्रै नभइ मधेसी जनताको जीवनसँग खेलवाड गर्ने गरी अप्रत्यासित ढंगबाट आएकाले सर्वोच्चको आदेशले आफूलाई गम्भीर बनाएको बताउनुभयो । ‘अदाललले सुझाव गर्ने हो, उहाँले भन्नुभयो, विमानस्थल निर्माणको यस विषमा आजसम्म भएका सबै निर्णय नै बदर गर्ने र अर्को स्थानमा बनाऊ भनेर आदेश दिने कार्यले देश अदालतले संचालन गर्ने बाटोबाट अघि बढेको भान भएको छ ।’ उहाँले भन्नुभएको छ, ‘यसले देश र खासगरी मधेश प्रदेशलाई नै बर्वाद पार्छ । यो देशलाई अदालतले नै संचालन गर्ने लक्षण देखिएको छ ।’ बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य रहनुभएका यादवले बताउनुभयो ।

‘लामो समयदेखि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तरखर ग¥यौं । साँढे ३ अर्बजती खर्च पनि भयो । कानुनी प्रकृया पुरा गर्दै जग्गाको मुअब्जा समेत फाईनल भएको अवस्थामा निर्णय नै बदर हुनु दुर्भाग्यपूर्ण भयो । नेपाल सरकारले हालसम्म सो सम्बन्धमा गरेका सबै निर्णय खारेज गरी अर्को व्यवस्थापन खोजीतर्फ लाग्नु भनेर आदेश गर्नुको मतलव अदालतका न्यायमूर्तिलाई यो देश र यो ठाउँसँग माया नभएको अवस्था देखियो ।’ यादवले सुनाउनुभयो ।

यस्तै नेपाली काँग्रेसका युवा नेता एंव महासमिति सदस्य लुकेस सिंहले सर्वोच्चको निर्णयले मधेश प्रदेशसँग सतप्रतिशत धोका भएको बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चाले तराईबासीमा बढीको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुषारापात गरेको बताउनुभयो ।

जुन ठाउँबाट गल्ति भएको हो त्यहि ठाउँबाट सच्याउनु पर्ने सिंहको माग छ । ‘दुर्भाग्यपूर्ण निर्णयले बाराका जनतामा निराशा पैदा भएको छ, सिंहले भन्नुभयो, सर्वोच्चले यो आदेश तुरुन्त सच्याओेस ।’

यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादीका मधेश प्रदेश कमिटीका सदस्य निजगढ नगरपालिका( ८, निवासी रविराज दंगालले पनि सर्वोच्चको आदेश नेपाली जनताको भावना विपरित भएको बताउनुभएको छ । उहाँले सरकारले २०७९÷०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमानस्थल निर्माणको कार्यक्रमअगाडि बढाएकै भोलिपल्ट आएको सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

सर्वोच्चको निर्णय विरुद्ध तत्काल आदालत घेर्न र सडक आन्दोलनमा उत्रन सरोकारवालासंग अनुरोध समेत गर्नुभएको छ । उहाँले भन्नुभएको, ‘सर्वोच्चले वषौंदेखि पछाडि पारिएको टाँगियाबस्तीको तत्काल व्यवस्थापन गर्दै निर्माण कार्य अगाडि बढाउन आदेश दिनु पर्दथ्यो ।’

विरोधमा पूर्वपश्चिम लोकमार्गमा चक्काजाम

निजगढ,सर्वोच्च अदालतले निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाएको विरोधमा निजगढस्थित पूर्वपश्चिम लोकमार्ग शुक्रवार बिहान पौने एक घण्टा अवरुद्ध गरिएको छ ।

स्वतन्त्र युवा विद्यार्थी निजगढ सरोकार मञ्चको आह्वानमा स्थानीयले अदालतको निर्णयको विरोधमा लोकमार्गस्थित शहिद चोकमा बिहान ८ बजेदेखि पौने घण्टा राजमार्ग अवरुद्ध पारेका हुन । सडक अवरोधले सयौं सवारी साधनका यात्रु सडकमा अलपत्र परेका थिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता पेमासिद्धि लामाले मधेश र सिंगो देशको हितमा रहेको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले गरेको निर्णय गलत रहेकोले सच्याँउन माग गर्नुभयो । कार्यक्रममा नेकपा एमाले निजगढ नगर कमिटी सचिव तिलक घलान, निजगढ नगरपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष जयराम कुँवर, माओवादी केन्द्रका कुमार लामा, राप्रपाका बासु तिमल्सिना लगायतले अदालतको निर्णय गलत रहेकोले सच्याँउन माग गर्नुभयो । उनीहरुले निर्णय नसच्याइए आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here