मनोज शाह
जीतपुर,बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ रमौली र लोसान्डा स्थित दलित बस्तीमा अनुदानमा आएको खानेपानी धारा जडान गर्न रकम असुली गरिएको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।स्थानीयका अनुसार इर्तुवा चेन्ज कम्पनी नामक संस्थाले दलित बस्तीमा धारा जडान गर्ने भन्दै सुरुमा अनुदानको योजना रहेको बताएको थियो । तर काम सम्पन्न भएपछि धारा जडान गरेबापत प्रत्येक घरधुरीसँग १३ हजार ५०० रुपैयाँका दरले रकम लिएको आरोप लगाइएको छ ।
स्थानीय जगदीश माझीका अनुसार संस्थाका प्रतिनिधिहरूले सुरुमा निःशुल्क धारा जडान गरिदिने बताउनुभयो । “धारा जडान गरिसकेपछि भने प्रतिघर १३ हजार ५०० रुपैयाँ दिनुपर्छ भन्दै पैसा लिइयो,” उहाँले भन्नुभयो ।
यस विषयमा संस्थाका प्रतिनिधिसँग जानकारी माग्दा रकम लिएको स्वीकार गरे पनि त्यो माथिल्लो तहको निर्णय भएको भन्दै स्पष्ट जवाफ दिन नसकेको स्थानीय पानालाल सहनीले बताउनुभयो । “उहाँहरूले ५० मिटरभन्दा माथिको काम हामीले गरेका हौँ, माथिल्लो मान्छेको निर्णय हो भन्नुभयो, तर कसको निर्णय हो भन्ने नाम भने बताउन सक्नुभएन,” उहाँले भन्नुभयो ।
अर्की स्थानीय खुशबु पासवानले पनि आफूहरू गरिब तथा दलित समुदायका भए पनि रकम तिर्न बाध्य भएको बताउनुभयो । “हामी गरिब र दलित समुदायका मान्छे हौँ । तर पनि १३ हजार ५०० रुपैयाँ तिर्नुप¥यो, पैसा दिएपछि मात्रै धारा प्रयोग गर्न पाइयो,” उहाँले भन्नुभयो ।स्थानीयका अनुसार मुस्लिम समुदाय बसोबास गर्ने क्षेत्रतर्फ रहेको कलको छेउमा संस्थाको बोर्ड राखिएको देखिए पनि दलित बस्तीमा गरिएको कामबारे स्पष्ट जानकारी छैन ।यस विषयमा सम्बन्धित निकायले हालसम्म कुनै अनुगमन नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । अनुदानको नाममा रकम असुली भएको आरोपबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीयले माग गरेका छन् ।


















