सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले निर्वाचनको बेला जारी गरेको प्रतिवद्धता कार्यान्वयनको निम्ति अग्रसरता देखाउनुभएको छ ।
पदभार ग्रहण गरेको भोलिपल्टैदेखि नगर प्रमुख पौडेलले प्रतिवद्धता कार्यान्वयनको निम्ति अग्रसरता देखाउनुभएको हो । चुनावी प्रतिवद्धता पत्र कार्यान्वयनको निम्ति नगर प्रमुख पौडेल मंगलवार संघीय राजधानी काठमाण्डौका बिभिन्न मन्त्रालयमा पुग्नुभएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलसहित काठमाण्डौ पुगेको पौडेल नेतृत्वको टोलीले बिभिन्न मन्त्रालयका मन्त्रीहरुसंग भेटघाट र छलफल गरेको छ ।
नगर प्रमुख पौडेलले संघीय सरकारका अर्थमन्त्री जर्नादन शर्मासंग भेट गरेको छ । पौडेलले नगरको विकासका निम्ति अर्थमन्त्री शर्मासंग आवश्यक बजेट बिनियोजन गर्न आग्रह गर्नुभएको थियो ।
जीतपुरसिमरालाई नमुना उपमहानगरपालिकाको रुपमा विकास गर्ने आफ्नो योजनामा आवश्यक सहयोग प्रदान गर्न मेयर पौडेलले अर्थमन्त्री शर्मासंग आग्रह गर्नुभएको थियो । भेटमा अर्थमन्त्री शर्माले जीतपुरसिमराको विकासमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
त्यसैगरी नगर प्रमुख पौडेलले श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठसंग पनि भेटघाटन गर्नुभएको छ । भेटमा पौडेलले जीतपुरसिमरामा श्रम अस्पताल बनाउन आग्रह गर्नुभयो । भेटमा पौडेलले भन्नुभयो, ‘श्रमिकहरुको समस्या समाधान गर्न जीतपुरसिमरामा श्रम अस्पताल आवश्यक छ, त्यसको निम्ति आवश्यक पहल गरिदिनुहोला’ । श्रम मन्त्री श्रेष्ठको कार्यकक्षमा भएको भेटमा श्रम सचिव एकनारायण अर्यालले अस्पताल निर्माणको लागि छिट्टै प्रक्रिया शुरु गरिने बताउनुभयो ।
त्यसैगरी नगर प्रमुख पौडेलको टोलीले गृहसचिव टेकनारायण पाण्डेसंग पनि भेट गर्नुभएको छ । भेटमा पौडेलले जीतपुरसिमराको सुरक्षा प्रभावकारी बनाउनको निम्ति आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।
नगर प्रमुख पौडेलले ईलाका प्रहरी जीतपुरमा प्रहरी निरीक्षकको दरबन्दी कायम गर्ने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन उहाँले आग्रह गर्नुभयो । पौडेलले दक्षिणी क्षेत्रमा सुरक्षा अवस्था निकै कमजोर रहेको भन्दै बिशेष योजना प्रस्तुत गर्न आग्रह गर्नुभयो । जवाफमा गृहसचिव टेकनारायण पाण्डेले जीतपुरमा प्रहरी निरीक्षकको दरबन्दी कायम गर्ने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक निर्देशन दिईसकिएको बताउनुभयो ।