निजगढ,मानव धर्म समाजले बारा जिल्लास्तरीय आश्रम निर्माण गर्ने उद्देश्यले निजगढमा आयोजना गरेको ‘राष्ट्र शान्ति ज्ञान महायज्ञ’ मा आइतवार साँझसम्म ३५ लाख रुपैया दान रकम संकलन भएको छ ।महायज्ञमा आइतवार मधेस प्रदेशकी प्रदेश सभा सदस्य मिना लामाले १० लाख दिने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो संसदीय कोषको रकमबाट सो रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो । ‘विकासका अन्य पूर्वाधार जस्तै आश्रम पनि समाजको लागि आवश्यक कुरा हो, सांसद लामाले भन्नुभयो, आश्रम निर्माणको लागि चालू आर्थिक वर्षको संसदीय विकास कोषको रकमबाट उपलब्ध गराउने गरी १० लाख दिने घोषणा गरेको छ ।’ ठूलो रकम दान सहयोग गर्नुभएकी सांसद लामालाई महायज्ञ आयोजक समितिले सम्मानसहित कदर पत्र प्रदान गरेको छ ।त्यसैगरी आइतवार नै हजार रुपैया दान गर्नुभएको आयोजक समितिकी सदस्य शान्ति ढुङ्गानाले जानकारी दिनुभयो ।निजगढ नगरपालिका वडा नम्बर ९ मा रहेको मानव धर्म समाजको जमिनमा पक्की आश्रम भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा आचार्य राघव उपाध्ययाले श्रीमद् भागवत संगीतमय कथा वाचन गरिरहनुभएको छ ।



















