निजगढ,निजगढ नगरपालिका– ११ रतनपुरस्थित रतनपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रतनपुर पोष्ट कार्यालयलाई सात दिनभित्र खानेपानीको बक्यौता रकम बुझाउन अल्टिमेटम दिएको छ ।खानेपानी प्रयोग गरेबापत बुझाउन बाँकी १ लाख ५ हजार २ सय बक्यौता ७ दिनभित्र भुक्तानी गर्न समितिले कार्यालयलाई पत्राचार गरेको हो । समितिले आज बुझाएको पत्रमा तोकिएको समयभित्र भुक्तानी नगरे सेवा अवरुद्ध पर्ने चेतावनी समेत दिइएको छ ।
‘तोकिएको समयभित्र भुक्तानी नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित कार्यालयकै हुने छ ।’ पत्रमा भनिएको छ ।
समितिका अनुसार २०७२ चैत १८ गते भएको द्विपक्षीय सम्झौताअनुसार निकुञ्ज कार्यालयको रतनपुर पोष्टमा धारा जडान गरी पिउने पानी आपूर्ति हुदैआएको छ । तर, त्यसयता निकुञ्जले महसुल तथा अन्य दायित्व पूरा नगरेको समितिको भनाई छ ।रकम भुक्तानीको लागि पटक पटक गरिएको छलफल र सहमतिको प्रयासमा निकुञ्ज कार्यालयले चासो नदेखाएले बक्यौता असुली गर्न समय नै तोकेर अल्टिमेटम नै दिनु परेको समितिका अध्यक्ष सन्तोषकुमार दनुवारले बताउनुभयो ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार पाइपलाइन विस्तारबापत रु २० हजार, मिटर जडान शुल्क रु १४ हजार र २०७३ सालदेखि २०८२ असार महिनासम्मको बाँकी महसुल रु २४ हजार तथा ३० प्रतिशतले हुने जरिवानाको रु. ७ हजार २ सय र वितरण प्रणाली सुधार तथा मर्मतबापत रु ४० हजार गरी कार्यालयको कुल रु १ लाख ५ हजार २ सय बक्यौता छ ।स्थानीय स्तरमा सञ्चालित उपभोक्ता समितिले सरकारी निकायलाई महसुल तिर्न सार्वजनिक रूपमा ताकेता गर्नु पर्ने अवस्था उत्पन्न हुनु दुःखद घटना भएको स्थानीय उपभोक्ताहरुले बताएका छन । “सामान्य उपभोक्ताको महशुल बुझाउन ढिला हुँदा धारा नै काटिन्छ, एक स्थानीयले भने, तर सरकारी कार्यालयले वर्षौँसम्म नतिर्दा पनि सेवा चलिरहनु विभेदकारी नीति हो ।” समितिले पत्रको बोधार्थ निजगढ नगरपालिका कार्यालय, वडा नम्बर ११ को कार्यालय र डिभिजन खानेपानी कार्यालयलगायत सम्बन्धित निकायलाई पनि पठाएको जनाएको छ ।


















