नरेश गुप्ता

बरियारपुर,हत्या आरोपीविरुद्ध प्रहरीले जाहेरी लिन नमानेको भन्दै पिडीतले कलैयामा आइतवार प्रदर्शन गरेका छन ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालय बाराअगाडि आइतबार दिउँसोदेखि प्रदर्शन भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० इनर्वासिरामा हत्या गरिएका २२ वर्षिय दिपक पासवानको हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्दै मृतकका आफन्त र गाउँलेहरुले प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन ।

हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । प्रदर्शनका कारण कलैया वीरगन्ज सडकखण्डमा यातायात आवागमन पनि प्रभावित भएको थियो । जीतपुरसिमरा उपमहानगर वडा नम्बर २० का काँग्रेस समर्थक २२ वर्षिय दिपकको शव गत जेठ ४ गते हत्या गरि गाउँ छेउकै खोलामा फालिएको अवस्थामा भेटिएको थियो ।

हत्यामा वडाअध्यक्षमा निर्वाचित एमालेका रसुल अन्सारी सहित ५ जना एमाले कार्यकर्ताको संलग्नता रहेको मृतकका परिवारजनको आरोप छ । मृतकका परिवारजनका अनुसार बैशाख ३० गते निर्वाचनका दिन मतदानका क्रममा एमाले समर्थकहरुसंग विवाद हुुँदा उनीहरुले काँग्रेसका समर्थक दिपकलाई ज्यान मार्ने धम्की दिएका थिए ।

त्यसको तीन दिनपछि जेठ ३ गते दिपक बेपत्ता भएका थिए । जेठ ४ गते गाउँ छेउकै खोलामा दिपकको निर्मम तरिकाले हत्या गरि शव फालिएको अवस्थामा भेटिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । तर हत्यामा नवनिर्वाचित वडाअध्यक्ष अन्सारी सहित ५ जनाको संलग्नता रहेकोेभन्दै उनीहरु विरुद्ध प्रहरी कार्यालयमा कटानी जोहरी दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको मृतककी आमा सुनैना पासवानले बताउनुभयो ।

बाराका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले भने पिडीत पक्षको जाहेरी दर्ताकै विषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको बताउनुभयो ।

Leave a Reply