निजगढ,गोगो फाउण्डेशनले निर्माण गर्न लागेको ‘नीति पोर्टल’मा महिला, यूवार सीमान्तकृत समुदायको पहुँच बृद्धिको लागि सुझाव संकलन गर्ने उद्देश्यले बाराको निजगढमा बिहीवार छलफल कार्यक्रम आयोजना गरिएको छ ।निजगढ ९ स्थित होटल राजमार्गमा भएको सो कार्यक्रममा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, स्थानीय जनप्रतिनिधि, महिला, युवा सीमान्तकृत समुदायका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सांसद मैनालीले पोर्टलमा तथ्यपरक सूचना र तथाङक समावेश गरिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले निर्माण हुन लागेको बेब पोर्टल सबैको लागि सहयोगी हुने बताउनुभयो ।
कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले लक्षित वर्गसम्म पुगेर योजना बनाउदा प्रतिफल राम्रो आउने बताउनुभयो । कार्यक्रमका सहभागीहरुले नागरिकले लाभ लिनसक्ने गरी पोर्टल निर्माण गरिनुपर्ने र सोही अनुसारको विषयबस्तु समावेश गरिनुपर्ने बताएका थिए ।गोगोले तिन वटै तहका ऐन, कानुन र अन्य पक्षको जानकारी दिने उद्देश्यले युएसआईडी, स्टयाण्ड र द एसिया फाउण्डेशनको सहयोगमा नीति पोर्टल निर्माण गर्न लागेको हो । पोर्टलमा महिला, युवा र सीमान्तकृत समुदायसंग सम्बन्धित तथाङकका साथै अन्य विविध पक्ष समेत समेटिने आयोजक संस्थाकी सुमित्रा लामिछानेले बताउनुभयो ।कार्यक्रमका कार्यक्रम संयोजक दुर्लभ बोगटीले पोर्टलको आवश्यकता र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।



















