नेपालीमा एउटा कविताको श्लोक चर्चित छ : ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा ।’ तर पछिल्ला वर्षमा भने कवितामा भनेजस्तो दसैं हुन छाडेको छ । मौसमले पनि चाडपर्वलाई छल्न थालेको छ । असार–साउन महिनाको जस्तो वर्षाले डुबान, बाढीपहिरोको त्रास असोज, कात्तिक महिनामा पनि उस्तै छ । दसैंलाई वर्षा तथा प्राकृतिक प्रकोपले खल्लो बनाइदिएका उदाहरण बर्सेनी थपिँदै छन । यो वर्ष पनि पाकेको धान, कोदोलगायतका अन्न र नगदेबाली वर्षाले नष्ट गरेको छ । यस वर्ष यस्तै भएको छ ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा दक्षिण एसियाको मनसुन अस्थिर भइरहेको विभिन्न अध्ययनले देखाएको छ । पानी पर्नु पर्ने समयमा नपर्ने र मनसुन सकिने समयमा लम्बिँदै जाने क्रम पछिल्लो समय देखिएको छ । नेपालबाट मनसुन बिदा भएपछिको समय भने स्थानीय प्रणाली तथा समुद्रमा आउने चक्रवातका कारण वर्षाको सम्भावना रहिरहन्छ । बंगालको खाडीमा विकास भएको मौसम प्रणाली र जलवाष्पका कारण हुने वर्षा भने बिदा हुन्छ ।
नेपालमा बंगालको खाडीबाट सुरु भएको मनसुन पश्चिम नेपाल हुँदै बिदा हुन्छ । मनसुन सकिएपछि पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमबाट पूर्वतर्फ मौसमी गतिविधि अघि बढ्छ । मनसुन बिदा हुनका लागि बंगालको खाडीबाट सक्रिय भएको मौसम प्रणाली पूर्ण निष्क्रिय हुनुपर्छ । नेपालमा सामान्यतया जुन २३ मा बिदा हुनुपर्ने मनसुन केही वर्षदेखि सर्दै आएको मौसमविद् बताउँछन् । नेपालमा यस वर्षको दशैं त सकिएको छ । तर बाढी पहिरो जस्ता प्रकोपका कारण दसा भने अझ बाँकी नै रहेको देखिन्छ ।