आर.के. चौधरी/पर्सा, असोज ११, २०८२
हिन्दू समुदायका महान् चाड विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा पर्साको औराहा पचगावास्थित श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालयमा एक भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता थारु कल्याणकारी सभा पर्साका अध्यक्ष भागवत चौधरी थारुले गर्नुभयो भने केन्द्रीय सदस्य महेन्द्र चौधरी थारु प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

अध्यक्ष भागवत चौधरी थारुले आफ्नो मन्तव्यमा चाडपर्वलाई सामाजिक ऐक्य, सद्भाव र संस्कृतिको पहिचानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो –
“चाडपर्वहरूले परिवार, छिमेकी र समाजलाई नजिक ल्याउँछन्। भविष्यका पुस्तालाई हाम्रो मौलिक संस्कृतिको पाठ सिकाउन हामी सबैले मर्यादित र भव्य ढंगले पर्व मनाउनुपर्छ।”

त्यस्तै प्रमुख अतिथि महेन्द्र चौधरी थारुले चाडपर्वलाई केवल मनोरञ्जन नभई संस्कृति र पहिचानको धरोहरका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो –
“हाम्रो समाज विविधताले भरिएको छ, तर यस्ता चाडपर्वहरूले हामीलाई एउटै डोरीमा बाँध्छन्। नयाँ पुस्ताले यसको वास्तविक मूल्य बुझेर अघि बढ्न जरुरी छ।”

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महतो थारु, उपाध्यक्ष राजु चौधरी थारु र मोहन दास थारु, अधिवक्ता अभय दास थारु तथा सचिव मनोज चौधरी थारुलगायतले चाडपर्वले ल्याउने सामाजिक र सांस्कृतिक एकताको सन्देशबारे विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रम विद्यालयका प्र.अ. शिवनाथ प्रसाद थारुको विशेष पहल र थारु समाज पर्सा परिवारको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय नेता, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Leave a Reply