सिमरा,वीरगन्ज युनाईटेड क्लबले दोस्रो परवानीपुर गोल्डकपको उपाधी उचालेको छ । जनकपुर स्पोर्टस् क्लबमाथि शनिवार ५(० को फराकिलो जित निकाल्दै वीरगन्जले उपाधि उचालेको हो ।फाइनल भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिए पनि वीरगन्जले जनकपुरमाथि सहज जित निकालेको थियो । जितसंगै वीरगन्जले एक लाख ५० नगद प्राप्त गरेको छ भने उपविजेता जनकपुरले ७५ हजार प्राप्त गरेको छ ।यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगन्जका अभिशेष चौधरी घोषित भएका छन् । विधागततर्फ पनि वीरगन्जकै वर्चश्व देखियो । प्रतियोगिताको उत्कृष्ट डिफेन्डरको पुरस्कार वीरगन्जका विकास चौधरीले प्राप्त गर्दा उत्कृष्ट गोलरक्षक वीरगन्जकै दिलमणी चौधरी र उत्कष्ट प्रशिक्षक मुन्ना चौधरी घोषित भए ।यता, जनकपुरका राकेश यादव उत्कृष्ट फरवार्ड र संजय मगर उत्कृष्ट मिडफिल्डर घोषित भए । फाइनल खेलको म्यान अफ दि म्याचको पुरस्कार वीरगन्जका चतुर्धन चौधरीले पाए । विधागततर्फ उत्कृष्ट भएका खेलाडीले जनही १० हजार नगद प्राप्त गरेका छन् ।विजेता तथा उपविजेता टिमका खेलाडीलाई मधेस प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र सोनल, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीलगायतले पुरस्कार वितरण गरेका थिए ।परवानीपुर युथ क्लबले आयोजना गरेको प्रतियोगितमा मधेस प्रदेशका ६ र बागमती प्रदेशका दुई गरी आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल हेर्न हजारौंको संख्या दर्शक उपस्थित भएका थिए ।

Leave a Reply