सिमरा,स्थानीय तह निर्वाचनलाई लक्षित गर्दैै नेकपा एमालेले बैशाख २७ गते सिमरामा जनसभा आयोजना गर्ने भएको छ । जीतपुरसिमरा निर्वाचन परिचालन कमिटीको आयोजनामा बुधवार सिमरामा बसेको बैठकले जनसभा गर्ने निर्णय गरेको हो ।
शक्ति प्रर्दशन गर्ने उदेश्यसहित आयोजना हुने जनसभालाई नेकपा एमालेका केन्द्रीय नेताले सम्बोधन गर्ने निर्वाचन परिचालन कमिटी संयोजक मनोज पौडेलले जानकारी दिनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित गर्न जनसभा गर्न लागिएको पौडेलले बताउनुभयो ।
यसअघि परिचालन कमिटीको बैठकमा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साह, मधेस प्रदेश सचिव डा. कृष्ण पौडेललगायतका नेताले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले एमालेविरुद्ध फैलाइएको षडयन्त्र चिर्न र उपमहानगरपालिकामा पुनः एमालेको उम्मेदवारलाई जिताउन जरुरी रहेको बताएका छन् ।
नगरबासीलाई भ्रमित पार्ने कोशिस भईरहेको भन्दै पूर्वमन्त्री एंव नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले भ्रममा नपर्न नगरबासीलाई आग्रह गर्नुभएको छ । बैठकमा पूर्वमन्त्री एंव पोलिटब्युरो सदस्य ज्वालाकुमारी साहले एमालेका उम्मेदवारलाई बिजयी गराउन नगरका हरेक टोल, वडा, गाँउमा प्रभावकारी अभियान संचालन गर्नुपर्ने बताउनुभएको थियो ।
बैठकले जनसभाभन्दा अगाडि सबै वडामा टोल सभा गर्ने निर्णय पनि गरेको छ । बैठकमा एमालेका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, परिचालन कमिटीका सदस्य तथा एमाले नेता÷कार्यकर्ताको उपस्थिति रहेको थियो ।