नरेश गुप्ता
बरियारपुर,संघीय मामिला तथा विकास मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेर नपठाउदा बाराको पचरौता नगरपालिकाको नगरसभा गर्न समस्या भएको प्रमुख जलान्धर सिंहले बताउनुभएको छ ।
पचरौता नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा गौरी साहलाई नियुक्त गर्न गरिएको निर्णय संघीय मामिला तथा विकास मन्त्री राजेन्द्र श्रेष्ठले कार्यान्वय गर्न अस्वीकार गरेपछि कर्मचारी अभावमा नगरसभा गर्न समस्या भएको उहाँको भनाइ छ । साह सोही नगरपालिकामा स्वास्थ्यतर्फको छैठौं तहको कर्मचारी हुनुहुन्छ ।
नगरपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको लागि मन्त्रालयमा गरेको पत्राचार गरेको भए पनि मन्त्री श्रेष्ठले राजनीतिक प्रभावमा परेर निर्णय कार्यान्वयन गर्न आनाकानी गरेको नगर प्रमुख सिंहको भनाइ छ । कार्यपालिकामा रहेका १९ जना सद्स्य मध्ये बोर्ड बैठकमा ७ जनाको निर्णयबाट प्रशासकीय अधिकृतको लागि मन्त्रालयमा पत्राचार गर्ने निर्णय भएको थियो ।
उपसचिव स्तरको कर्मचारको दरबन्दी रहेको सो पालिकामा संघीय मामिला तथा विकास मन्त्रालयले दरबन्दी अनुसार कर्मचारी अझै व्यवस्था गर्न सकेको छैन । ‘मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था गर्नुपर्छ, होइन भने नगरपालिकाले गरेको निर्णयको आधारमा निमित्त खटाउनु पर्यो, नगरप्रमुख सिंहले भन्नुभयो, तर कर्मचारी नै नपठाएर नगरपालिकाको काम प्रभावित पार्ने अधिकार कसैलाई छैन ।’ उहाँले मन्त्री श्रेष्ठका कारण नगरपालिकाको नगरसभा नै अन्यौलमा परेको बताउनुभयो ।
तत्कालीन वनमन्त्री एंव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य रामसहाय यादव र संघीय मामिला तथा विकास मन्त्री श्रेष्ठ दुबै जना जसपा पार्टीको नेता भएको कारण स्थानीय कार्यकर्ताको प्रभावमा परेर पचरौतामा प्रमुख प्रशासकीय अधिकृतलाई आउन नदिएर नगरपालिकाको काम अस्तव्यस्त पार्न खोजिएको बताइएको छ ।
मन्त्री श्रेष्ठले नगरपालिका कार्यलयमा उपसचिव सुर्य दाहाललाई पठाउने आश्वासन दिएको भए पनि दहालले पनि मन्त्रीकै निर्देशनमा तीन वटा सर्त राखेको र आफुले सो शर्त अस्वीकार गरेको नगर प्रमुख सिंह बताउनुहुन्छ । पूर्वनगर प्रमुख रमेशकुमार यादवव्दारा परिचालित उपसचिव दहाललाई अस्वीकार गरेपछि मन्त्रालय अहिले नगरसभा नै बिथोल्ने षड्यन्त्रमा लागेका सिंहको भनाइ छ ।
पचरौता नगरपालिकाको नगर सभाको लागि सबै तयारी पुरा भइसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा सभा गर्न समस्या भएको उहाँको भनाइ छ ।
यसअघि कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामकुमार यादवलाई जसपाका निर्वाचित जनप्रतिनिधिले डर, त्रास र धम्की दिएपछि उहाँ १६ दिनदेखि सम्पर्क बिहिन बन्नुभएको छ ।
असारभित्र नगरसभा सम्पन्न गर्न नसके साउन १ गतेदेखि करार सेवाका ९८ जना कर्मचारीको समय अवधी समाप्त हुने र कर्मचारीको तलब भत्ता, विद्यालयको छात्रवृत्ति रकम वितरणलगायत नगरपालिकाको सबै कामकाज प्रभावित हुने भएको छ ।
नगर कार्यपालिकामा जसपाको बहुमत रहेको छ भने मेयर सिंह नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो । पूर्व नगर प्रमुख यादवले राजनीतिक पूर्वाग्रहमा नगरपालिकालाई असफल पार्ने षडयन्त्र गरेको स्थानीयले आरोप लगाएका छन ।