निजगढ,निजगढ नगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता लिन शुक्रवारको लागि तोकेको समयभित्र उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन । निर्वाचन अधिकृतको कार्यालय निजगढका अनुसार नगरप्रमुख पदमा १ जना, वडाध्यक्षमा ६ र वडा सदस्यमा ३ ले गरी १० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन ।

नगरप्रमुख पदबाट उम्मेदवारी फिर्ता लिनेमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारी दिनेश शर्मा रहनुभएको छ । अब निजगढको नगरप्रमुखमा ९ जना प्रत्यासीबीच प्रतिस्पर्धा हुनेभएको छ ।

उम्मेदवारी फिर्ता लिने वडा अध्यक्षका उम्मेदवारहरुमा निजगढ वडा नम्बर २ स्वतन्त्र उम्मेदवार देबेन्द्रबहादुर पुलामी, वडा नम्बर ४ का स्वतन्त्र उम्मेदवार सुदर्शनकुमार लामिछाने, वडा नम्बर ५ का स्वतन्त्र उम्मेदवार कृष्णराज गिरी, वडा नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार कैलाश खड्का, वडा नम्बर ९ का स्वतन्त्र उम्मेदवार प्रदिपकुमार उप्रेती र १३ नम्बर वडाका अध्यक्षमा स्वतन्त्र उम्मेदवार सोमलाल गोलेले रहेका छन । त्यसैगरी वडा नम्बर ४ बाट वडा सदस्यको स्वतन्त्र उम्मेदवार धर्मेन्द्र प्रसाद साह, रोहित कुमार चौधरी र सोही वडाबाट महिला सदस्यको स्वतन्त्र उम्मेदवार दिनुभएकी विनस कुमारी कुवरले पनि उम्मेदवारी फिर्ता लिनुभएको निजगढ निर्वाचन अधिकृत कार्यालयका प्रमुखशम्भु प्रसाद बरालले जानकारी दिनुभयो ।

यसअघि जनता समाजवादी पार्टीबाट वडा नम्बर ७ मा दलित महिला सदस्यबाट उम्मेदवारी दिनुभएकी बेली नेपाली, वडा नम्बर १ मा वडा सदस्यका उम्मेदवार मुमन सि घिसिङ र वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवारी ज्ञानबहादुर पारियारको उम्मेदवारी रद्द गरिएको थियो । उम्मेदवार स्वयम अर्को उम्मेदवारको प्रस्तावक भएको हुँदा उनीहरुको उम्मेदवारी रद्द भएको थियो । त्यसैगरी राप्रपा पार्टीबाट वडा नम्बर १० मा सदस्यको उम्मेदवार शिवबहादुर परियारको समेत उम्मेदवारी रद्द भएको थियो । त्यस्तै, नेपाली कांग्रेस पार्टीबाट वडा नम्बर १२ को सदस्यका उम्मेदवार धनबहादुर खुलालको सोही वडामा खुल्ला सदस्यमा पहिला नै दुई जनाको नाम दर्ता भएको हुँदा उम्मेदवारी रद्द गरिएको थियो ।

आगामी निर्वाचनमा निजगढमा एकजना मेयर, एक उप–मेयर, १३ जना वडा अध्यक्ष र ५१ जना वडा सदस्य निर्वाचित हुनेछन ।

Leave a Reply