नरेश गुप्ता
सिम्रौनगढ,सिम्रौनगढ नेपालकै प्रमुख तरकारी बजारकोे रुपमा रहेको भएपनि अव्यवस्थित तरकारी बजारले व्यापारीले समस्या बेहोर्नु परेको छ । कृषि बजारको रुपमा प्रसिद्ध सिम्रौनगढका कृषकहरु कृषि सेडको अभावमा टन्टलापुर घाममा तरकारी किनबेच गर्न बाध्य बनेका छन ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ मा अवस्थित सिम्रौनगढ कृषि बजार ब्यवस्थापनको लागि कृषि सेड निर्माण गर्न भनेर सिम्रौनगढ नगरपालिकाले ७ लाख रुपैया बजेट बिनियोजन गरेको र उपभोक्ता समिति मार्फत खर्च गरिएको भएपनि कृषि सेडको निर्माण कार्य अधुरो छोडेर बजेट अनियमितता गरिएको स्थानीय व्यापारीहरु बताउछन् ।
स्थानीय सरकारको ५ बर्षे कार्याकाल पुरा गर्दा पनि नगर प्रमुख बिजयशंकर यादवले कृषि, स्वास्थ र शिक्षाको विकासको क्षेत्रमा खासै सुधार गर्न नसकेको स्थानीय कृषक संजय कुशवाहाले बताउनुभयो । कृषि क्षेत्रको विकासको लागि भनेर नगरपालिकाले बार्षिक लाखौ बजेट खर्च गरेको बताए पनि भ्रष्टाचार भएको तथा तरकारी बजार व्यवस्थापन गर्न नसकेको आरोप स्थानीयको छ ।
सिम्रौनगढका किसानहरुले उत्पादन गरेको तरकारी काठमाडौ लगायत देशका अन्य शहरहरुमा बजारीकरणको लागि नगरपालिकाले व्यवस्था गर्न नसकेको कारण किसानले तरकारीको उचित मूल्य पाउन नसकेको स्थानीय कृषक हरि महतोले बताउनुभयो ।
ऐतिहासिक स्थलको रुपमा रहेको सिम्रौनगढ बजार भौतिक पूर्वाधार विकास, बजार ब्यवस्थापन, शौचालयको निर्माण नहँुदा स्थानीय व्यापारी र कृषकहरु समस्यामा परेका हुन ।