जेठ १ गतेबाट सरकारी निकायहरुमा आइतबार समेत बिदा हुदै आएको थियो । शनिबार त यसैपनि बिदा नै थियो । शनिबार र आइतबार दुबै दिन बिदा हुँदा मुलतः सरकारी कार्यालयका कर्मचारीहरुलाई धेरै राहत भएको थियो । विद्यालय र अन्य सरकारी कार्यालयमा यसको प्रत्यक्ष असर देखिएको थियो । शिक्षक र कर्मचारीहरुलाई हाइसन्चो भएपनि आम नागरिकहरुका लागि भने सास्ती भएको थियो ।

शुक्रबारबाट एकैचोटी सोमबार सेवा लिन त्यो निर्णयबाट सेवाग्राही बाध्य भएका थिए, जुन एकदमै अव्यवहारिक र आम नागरिकहरुलाई दुःखदायी सावित बनेको थियो । जनचाहना विपरीत अव्यवहारिक र हचुवाको भरमा गरिएको निर्णय सच्याउन अहिले फेरि सरकार बाध्य भएको छ । सरकारको चाहना जस्तो भएपनि यसबाट जनताले थप सेवा पाउनु त कता हो कता उल्टै समस्या बेहोर्दै आएका थिए । त्यसैले पनि यसको चौतफी विरोध भएको थियो ।

तीब्र विरोधपछि सरकारले आफ्नो पूर्ववर्ती निर्णय सच्चाएको छ । अब असार १ गतेबाट भने आइतबार पनि सरकारी कार्यालयहरु सुचारु हुनेछन् । शुक्रबार सेवा लिन बाँकी रहेका सेवाग्राहीले अब सेवा प्राप्त गर्न सोमबारसम्म कुर्न पर्ने छैन । यस्तो हचुवा भरको निर्णयका कारण सरकारले आफै पछाडि फर्कन परेको छ । यस्तो बकमफुसे निर्णय गर्दा बिचार गर्नु पर्छ सरकार ।

Leave a Reply