पुष्पराज खतिवडा

मनहर्वा,जिल्लामा स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरुका तर्फबाट अत्याधिक उमेदवारी परेको पाइएको छ ।

निर्वाचन आयोगको कार्यालय बाराले दिएको जानकारी अनुसार सोमवार राति साँढे ९ बजेसम्ममा सबै पदमा गरि ३ हजार ९५१ जनाको नाम कम्प्युटर सिस्टममा अध्यावधिक भएको छ । सोका आधारमा १६ वटा पालिका प्रमुखका लागि मात्रै १९४ जनाले उमेदवारी दर्ता गरेका छन् ।

त्यस्तै उपप्रमुखमा ११९ जनाले, वडा अध्यक्षमा ९०४, सदस्यमा १ हजार ४३५, महिला सदस्यमा ६४६ र दलित महिला सदस्य पदमा ६५३ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख अधिकृत सरोज कुमार चौधरीले जानकारी दिनुभयो । यो संख्या अझै बढ्ने देखिएको उहाँले बताउनुभयो ।

राति साँढे नौ बज्दा विश्रामपुर गाउँपालिका बाहेकका पालिकाहरुमा मनोनयन दर्ताको काम सम्पन्न हुन सकेको थिएन । सो पालिकामा मात्रै अध्यक्ष पदमा १७ जनाले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा ७ जनाको उमेदवारी दर्ता भएको जनाइएको छ । विश्रामपुर बाहेकका पालिकाहरुमा रातको १२ बजेसम्म उमेदवारी दर्ता भएकाले अध्यावधिक गर्ने काम मंगलबार पनि भइरहेको निर्वाचन अधिकृत चौधरीले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म पालिका प्रमुखमा सबैभन्दा बढी पचरौता नगरपालिकामा २० जनाको उमेदवारी परेको छ । सो पालिकामा १३ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् । यस्तै ७ वटा दलहरुबाट समेत प्रमुख पदमा उमेदवारी परेको उहाँले बताउनुभयो । यस्तै सबैभन्दा कम बारागढी गाउँपालिका र महागढिमाई नगरपालिका प्रमुख पदमा ७÷७ जनाको उमेदवारी परेको निर्वाचन अधिकृत चौधरीले बताउनुभयो ।

पाँच दलीय गठबन्धनले जिल्लाको कलैया र जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाको प्रमुख उपप्रमसख बाहेकमा व्यवस्थापन गर्न सकेको देखिएन । कलैयामा काँग्रेसका सभापती एवं निर्वतमान मेयर राजेश रायले मेयरमा र जनता समाजवादी पाटीका तर्फबाट संविधानसभा सदस्य प्रमोद गुप्ताले उपमेयरमा उमेदवारी दर्ता गराउनुभएको छ । निजगढमा भने गठबन्धको तर्फबाट नेपाली कांग्रेसका सुरेश खनाल र माओवादीबाट रवि दङ्गालले मनोनयन गर्नुभएको छ । ती पालिकाका वडाहरुमा त्यस प्रकारको गठबन्धन हुन सकेन । सबै वडामा सत्तापक्षीय गठबन्धनमा आवद्ध सबै दलले आआफ्नै उमेदवारको नाम दर्ता गराएका छन् ।

यस्तै जितपुरसिमरा उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादीका नेता राजन पौडेलले मेयरमा उमेदवारी दर्ता गराउनुभएको छ । उपमेयरमा नेपाली काँग्रेसकी मेघा शाहीको उमेदवारी परेको छ । जीतपुरसिमरामा पनि प्रमुख उपप्रमुख मात्रै गठबन्धन भएको हो । वडाहरुमा आन्तरिक व्यवस्थापन गर्न नसक्दा काँग्रेस, जसपा र राजमो पार्टीले माओवादीलाई सहयोग नगर्ने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका छन् ।

त्यसैगरी प्रतिपक्षी एमालेका तर्फबाट कलैयामा जिल्ला अध्यक्ष विनोद साहले मेयर र उपमेयरमा रौशन प्रविनको उमेदवारी परेको छ । यस्तै जीतपुरसिमरामा पूर्वउपमेयर सरस्वती चौधरीले मेयर र पार्टी नगर कमिटी अध्यक्ष भोला अधिकारीले उपमेयरमा उमेदवारी दिनुभएको छ ।

जिल्लाका २ उपमहानगर, ५नगर र ९ गाउँ गरी १६ वटै पालिका अधिकांसमा बागी उमेदवार खडा भएका छन् । १६७ वट वडा भएका १६ पालिकामा कुनैपनि वडाबाट एकजना पनि निर्विरोध हुन सकेका छैनन् । पालिकाहरुमा आफ्ना उमेदवार खडा गरेर चुनावी मैदानमा होमिने पुराना र नयाँ गरी ११ वटा पार्टी छन् ।

ती पार्टीहरुमा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सुशासन पार्टी, जनमत पार्टी, नेपाल सद्भावना पार्टी, सामाजिक एकता पार्टी र राष्ट्रिय जनमोर्चाले बारामा उमेदवारी दिएका छन् । मुख्य दल बाहेकका साना र नयाँ दलले एकाद पालिकामा मात्रै उमेदवारी दिएको पाइएको जिल्ला निर्वाचन अधिकृत चौधरीले जानकारी दिनुभयो ।

यसैबीच देशमा सबै भन्दा धेरै मधेश प्रदेशमा उम्मेदवारी परेको छ । मधेशमा रहेका १ सय ३६ स्थानीय तहमा विभिन्न पदका लागि २३ हजार १ सय ५ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेशमा स्थानीय तह प्रमुखमा १ हजार ७ सय १५ जनाको र उपप्रमुखमा ८ सय ५१ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी वडा अध्यक्षमा ५ हजार ६ सय ८१ जना, सदस्यमा ७ हजार ५ सय ६४ जना, महिला सदस्यमा ३ हजार ७ सय ४३ जना र दलित महिला सदस्यमा ३ हजार ५ सय ५२ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । मधेश प्रदेशको सर्लाही जिल्लामा सबै भन्दा धेरै ३ हजार ६ सय ३७ जनाको उम्मेदवारी परेको छ । २०७४ को स्थानीय निर्वाचनमा भने देशभरका ७ सय ५३ पालिकामा गरि १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here