कुनै जमाना थियो, एसएलसी भनेपछि विद्यार्थीहरुले खुट्टा कामाउनु पर्दथ्यो । एसएलसी त तराई मधेशको क्षेत्रमा त प्रतिष्ठाको बिषय पनि बन्ने गर्दथ्यो । एसएलसीबाट एसइइ भएपछि भने केही हदसम्म विद्यार्थीहरुबाट यो भूत हटेको छ । तर पनि एसइइको केही न केही धङ्गधङ्गी बाँकी नै छ । यस वर्षको माध्यामिक परीक्षा अथवा एसइइ पनि आजबाट संचालनमा आउदैछ । यसपालीको एसइइ भने अलि फरक छ ।
झण्डै दुई वर्ष विद्यार्थीहरुले कोरोना भाइरसका कारण एसइइ दिन पाएनन् । उनीहरुलाई आन्तरिक मुल्यांकनको नाउमा अंक दिइयो र पास गरियो तर यसपाली भने सिकाइ र निश्चित मापदण्डको आधारमा एसइइ हुदैछ । सिकाइ विद्यार्थीका लागि नभइ नहुने कुरा हो तर यसपाली पनि विद्यार्थीहरुले राम्रोसंग सिकाइ गर्न पाएका छैनन् ।
कोरोनाका कारण यस वर्षको परीक्षा पनि भनेको समयमा भएन र सिकाइ पनि प्रभावकारी हुन सकेको छैन । यो वर्ष नै विभिन्न समयमा आएका कोरोनाको विभिन्न भेरियण्टका कारण पनि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएकै हो । तर पर्याप्त पढ्न नपाए पनि अब परीक्षाको समय आएको छ । अब जे भएपनि एसइइ सामान्य परीक्षा हो भन्ने धारणा बसाएर विद्यार्थीबाट परीक्षाको अनावश्यक भूत हटाउन आवश्यक छ ।