वीरगञ्ज,सडक विस्तारको लागि वीरगञ्ज उपमहानगरबाट गएको टोलीलाई स्थानीयको एउटा समूहले विरोध गरेपछि विस्तार कार्य रोकिएको छ ।वीरगञ्ज महानगरपालिका– १२ र १३ अन्तर्गत पर्ने मुर्ली चोकदेखि नेपाल आयल निगम क्षेत्रीय कार्यालयसम्मको सडकलाई फराकिलो बनाउने क्रममा अतिक्रमण हटाउन पुगेको महानगरको टोली स्थानीयको अवरोधपछि फिर्ता भएको हो ।
महानगरपालिकाले माघ ३ गते जारी सूचनामा महानगरपालिकाले सडकको केन्द्रबिन्दुबाट ५÷५ मिटरभित्र पर्ने अवैध संरचना हटाउन १५ दिनको समय दिएको थियो ।सोही सूचनाअनुसार आइतवार सडक अतिक्रमण अतिक्रमण हटाउन पुगेको महानगरको टोलीको स्थानीय बासिन्दाले कडा विरोध जनाउँदै नाराबाजी गरेका थिए । विवाद बढ्दै गएपछि स्थिति तनावपूर्ण बनेको र महानगरको टोली कुनै कारबाही नगरी फर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।स्थानीयले सडक विस्तार गर्दा आफ्नो उठिबास लाग्ने चिन्ता व्यक्त गरेका छन् । महानगरपालिकाले भने सडक साँघुरो हुँदा एम्बुलेन्स, दमकल तथा अन्य आपत्कालीन सवारी साधनलाई आवतजावत गर्न कठिनाइ हुने भएकाले सडक स्तरोन्नति आवश्यक रहेको जनाएको छ ।यस क्षेत्रका बासिन्दाले अघिल्लो वर्ष सडक विस्तारको माग गरेका थिए ।