पुष्पराज खतिवडा

मनहर्वा,आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनय दर्ता गर्ने दिन नजिकिएसँगै जीतपुरसिमरा उपमहानगरपालिकामा दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन हम्मे परेको छ । आकंक्षीको संख्या धेरै हुँदा मुख्य राजनीतिक दलहरुमा यस्तो समस्या देखिएको हो ।

जीतपुरसिरा उपमहानगरपालिकामा दलहरुको सरगर्मी बढेको पाइएको छ । केही दिन अघिमात्रै नगर अधिवेशन सम्पन्न गरेको नेकपा एमाले, नेपाली काँग्रेस र माओवादीले आ–आफ्नै तयारी थालेका छन् । चर्को घाम र बढ्दो गर्मीको प्रवाह नगरी दलका आकांक्षीहरु आफ्नो पक्षमा दाबेदारी प्रस्तुत गर्न जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेताका घरदैलोमा दौडधुप गरिरहेका छन् ।

सत्तरुढ ५ दलीय गठबन्धनले जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने मनसाय बनाएको देखिएपछि कांग्रेसले सोको विरोध गरेको छ । कांग्रेस एक्लै चुनाव लड्न र जित्न सक्ने अवस्थामा रहेको भन्दै कांग्रेस नेताहरुले औपचारिक रुपमै गठबन्धन स्वीकार नगर्ने बताएका छन् । बुधबार काँग्रेस नगरकमिटी र क्षेत्र नम्बर ४ ख प्रदेश क्षेत्र कमिटीको संयुक्त बैठकले गठबन्धन नमान्ने निर्णय नै गरेको नगर अध्यक्ष छविलाल शर्माले बताउनुभयो । माओवादीलाई प्रमुख पद दिएर सहमति गर्न नसकिने उहाँले धारण राख्नुभयो ।

कांग्रेसभित्र नगरसभापति छविलाल शर्मा, संविधानसभा सदस्य शोभाकर पराजुली, पूर्वनगर सभापति श्यामबाबु गुप्ता, प्रदेश ४ ख सभापति सुमन भट्टराई, नेताहरु कृष्णवर्त सिंह, नारायणी रायमाझी (निरु), ओमकृष्ण कार्की, कपिलदेव यादवले मेयरमा आकंक्षा देखाएका छन् ।

नगरसभापति शर्माले भने सबै आकांक्षी उत्तिकै प्रभावकारी र सामाजिक छवि भएका व्यक्तिहरु भएकाले जस्ले टिकट पाए पनि यसपटक कांग्रेसले चुनाव जित्ने दावी गर्नुभयो ।

यस्तै नेकपा एमालेमा उपमहानगरको प्रमुखमा दाबी गर्दै आकंक्षा राख्नेहरुको संख्या समेत उस्तै छ । गाविस अध्यक्ष हुँदा तत्कालिन डुमरवानालाई जिल्लाकै उत्कृष्ठ गाविस बनाउन सफल नारायण क्षेत्री, हाल पालिका उपप्रमुख रहेकी सरस्वती चौधरी, बारा एमाले पूर्वअध्यक्ष देवनाराण चौधरी, युवा नेता मनोज पौडेलको नाम विशेष चर्चामा छ ।

त्यस्तै एमाले वृद्धिजीवी संगठनका जिल्ला अध्यक्ष राधेश्याम शिवाकोटी, सचिव अनिल मैनाली, सिमरा खानेपानीका अध्यक्ष काँसिम मिया र एमाले नगर अध्यक्ष भोला अधिकारीले पनि नगरप्रमुखको टिकटका लागि आकंक्षा देखाएका छन् ।

माओवादीमा पनि उस्तै अवस्था छ । मेयर पदाम आधादर्ज नेताहरुले आकंक्षा देखाउनु भएको एक नेताले बताएका छन् । संविधानसभा सदस्य जयराम दाहाल, जिल्ला संयोजक अनिल श्रेष्ठ, मधेश प्रदेश कमिटी सदस्य राजन पौडेल, किसान संगठनका जिल्ला अध्यक्ष प्रेम बराल, महिला नेतृहरु गीता कँडेल, शिला खनाल लगायतको नाम पार्टीभित्र चर्चामा छ ।

अघिल्लो स्थानीय निर्वाचनमा मेयर पदमा पराजय भएका पौडेललाई नै यसपटक पनि मेयरको उम्मेदवार बनाउने सम्भावना रहेको एक नेताले बताए । गठबन्धनको अगुवाइ गर्न सक्ने क्षमता पौडेलमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here