कृष्ण मोहन साह
सेढवा,पर्सको ठोरीको पिकनिक स्पटका रुपमा परिचित राईधारा क्षेत्रमा यस वर्षको तिहार र छठ पर्व बितेलगत्तै सवारी पार्किङ शुल्कबापत करीब ५० हजार रुपैया संकलन भएको छ ।
तिहार र छठ पर्वको समापनसंगै बितेको ५ दिनयता मात्र राईधारा परिसरमा पिकनिक खान आउने आन्तरिक र भारतीय पर्यटकहरुको सवारी साधनबाट मात्र सो रकम संकलन गरिएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिनुभयो ।
ठोरी गापा –२ मा पर्ने ठुटेखोला किनारमा अवस्थित सो क्षेत्र वनशक्ति सामुदायिक वन अन्तरगत पर्ने भए पनि सो क्षेत्रको व्यवस्थापनको जिम्मा भने निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले लिएको छ । वनशक्ती सामुदायिक वन समिति राईधारा क्षेत्र संरक्षणमा निष्क्रिय भएकाले निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले नै संरक्षण र सरसफाइको काम गर्दै आइरहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
राईधारा क्षेत्रमा पिकनिक खान आउने पर्यटकहरुबाट हल्का चार पाङ्ग्रे सवारी पार्किङबापत नेपालीका लागि रु २ सय र भारतीयका लागि भारतीय रुपैयाँ २ सय नै शुल्क तोकिएको छ भने ट्र्याक्टर र बस पार्किङ गरेबापत नेपालीले ५ सय र भारतीयले भारतीय रुपैयाँ ५ सय नै तिर्नुपर्छ । त्यसबाहेक अन्य कुनै अतिरिक्त शुल्क भने नलिने गरेको अध्यक्ष बस्नेतको भनाइ छ ।
पर्यटकहरुको सवारीबाट संकलन गरिएको रकमबाट सरसफाइका लागि हेरालुको व्यवस्था गरिएको तथा सोही रकमबाट नै राईधारा क्षेत्रमा संरक्षण काम गर्दै आइरहेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले जनाएको छ । पर्साकै पर्यटकीय क्षेत्र भएर पनि व्यवस्थापन हुन नसकेको राईधारा घुम्न आउने पर्यटकको गुनासो छ ।
यस्तै यस वर्ष पनि दीपावली सकिएको र छट पनि सकिएसँगै ठोरीमा भारतीय तथा नेपालका आन्तरिक पर्यटकहरुको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण अघिल्ला वर्षहरुमा सुस्ताएको पर्यटकीय चहलपहल यस वर्ष फेरि बढेको हो । छठको समापनसंगै सोमबार मात्रै सिमावर्ती भारतीय शहर जमुनिया, नरकटियागंज, रामनगर, पटना लगायत वीरगन्ज, कलैया, पोखरीया, हरैया लागायतका स्थानका सयौं व्यक्तिहरु सपरिवार आएर पिकनिक मनाएका छन ।
मंगलवार पनि सो क्षेत्रमा पिकनिक खान आउने नेपालीहरुको भिड रहेको छ । सोमवारको तुलनामा मंगलवार भारतीय पर्यटकहरुको संख्यामा कमी आएको भए पनि नेपालीहरुको भिड रहेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
यस क्षेत्रमा हरेक वर्ष तिहार र छठ पर्व सकिए लगत्तै ठोरी घुम्न जाने र पिकनिक खान जाने पर्यटकहरुको घुइचो नै लाग्ने गरेको छ ।

















