नरेश गुप्ता,

बरियारपुर,स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेश बाहेकका सत्तारुढ तीन दलले आपसी सहमतिमा निर्वाचन लड्ने निर्णय गरेपछि कलैया उपमहानगरपालिकामा त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ ।

सतारुढ पाँच दलीय गठबन्धन मध्ये नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबीच आपसमा तालमेल गरेर निर्वाचनमा जाने निर्णय भएको हो । ३ दलका नेताहरुले बिहीवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी निर्वाचनमा एकतावद्ध भएर जाने बताएका छन ।

सत्तारुढ ३ दलबीच गठबन्धन हुने भएपछि कलैया उपमहानगरपालिकाको नगर प्रमुखको निर्वाचनको नेपाली कांग्रेश, नेकपा एमाले र ३ दलीय गठबन्धनका उम्मेदवारबीच भिडन्त हुनेभएको छ ।

नेकपा माओवादी केन्द्र कलैया नगर कमिटी अध्यक्ष मुकेश साह, जसपा नेपाल बारा अध्यक्ष शिवनाथ पटेल, नेकपा एकीकृत समाजवादी कलैया नगर कमिटी अध्यक्ष अरुण खनालले पत्रकार सम्मेलनमा संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै अन्य दलसंग पनि सहकार्य गरिने बताएका छन ।

प्रतिगामी शक्तिहरुलाई परास्त गर्ने उदेश्यले पाँच दलीय गठबन्धनको मर्म अनुसार ३ दलहरुले आगामी स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिकामा गठबन्धन गरेर उम्मेदवार उठाउने नेकपा माओवादी केन्द्र कलैया नगर कमिटी अध्यक्ष मुकेश साहले बताउनुभयो । स्थानीय तहको निर्वाचन २०७४ मा कलैया नगरपालिकामा नगर प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका थिए । ५ दलीय गठबन्धनको शीर्ष तहमा गत स्थानीय तहको निर्वाचनमा विजयी भएका दलका उम्मेदवारलाई नै प्रमुख र उपप्रमुखको उम्मेदवार बनाउने सहमति बनेपछि कलैयामा कांग्रेश बाहेक सत्तारुढ अन्य दलहरुले अलग्गै गठबन्धन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here