सिमरा,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी धर्नामा एक्यवद्धता जनाउँदै पथलैया र सिमराका युवाले शनिवार प्रदर्शन गरेका छन् ।‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघरको सडकमा धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाले प्रदर्शन गरेका हुन् ।स्थानीय युवाले पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सम्बोधन गर्न माग गरेका छन् । पथलैयाको मुख्य चोकमा गरिएको प्रदर्शनमा करिब ५० जना स्थानीयको सहभागिता रहेको थियो ।सिमरामा युवाले प्रदर्शनलाई निरन्तरता दिने भएका छन् । उनीहरुले दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने भएका छन् ।यसैबीच राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गर्नुभएका उहाँले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको हो ।पुनले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभयो ।अरु हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उहाँले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताउनुभयो ।उहाँले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गर्नुभएको छ ।‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौं । । यो अनुरोध सबै पार्टीलाई हो । अरु पार्टी पनि अएर मेरो भाषण सुनुन् । की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन् ,’ उहाँले भन्नुभयो । नेताहरुले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको उहाँको भनाइ छ ।

Leave a Reply