वीरगंज, ६असोज । पर्सा जिल्लामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ । प्रहरीले शुक्रबार राति विशेष सुराकीका आधारमा पोखरिया नगरपालिका–७, जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोभित्र लुकाइराखिएको अवस्थामा करिब १९ किलो १२६ ग्राम चरेस बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, विओपी (बोर्डर आउट पोस्ट) प्रसौनी भठ्ठाबाट खटिएको टोलीले छाप्रोमा छापा मार्दा कालो झोलाभित्र विशेष गरी लुकाइराखिएको अवस्थामा चरेस भेटिएको थियो । बरामद कार्यमा सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा टोली खटिएको थियो ।
बरामद गरिएको चरेसलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा पछिल्ला दिनमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । भारतसँगको खुला सीमा क्षेत्रमा चरेस, गाँजा, ब्राउनसुगर, याबा जस्ता पदार्थको ओसारपसार बढ्दै गइरहेको भन्दै सुरक्षा निकायहरू सतर्क गरिएका छन् ।

प्रहरी स्रोतका अनुसार बरामद गरिएको १९ किलोभन्दा बढी चरेसको मूल्य करोडौं रुपैयाँ बराबर हुनसक्ने अनुमान गरिएको छ । यसअघि पनि पर्सा, बारासहित तराईका विभिन्न जिल्लाबाट पटक–पटक ठूलो मात्रामा लागूऔषध बरामद हुँदै आएको छ ।

यस घटनाले फेरि एकपटक सीमा क्षेत्र हुँदै हुने अवैध कारोबार र ओसारपसारलाई नियन्त्रण गर्न अझ कडाइ र सहकार्य आवश्यक रहेको देखाएको छ ।

Leave a Reply