वीरगन्ज,स्थानीय निर्वाचनको मुखैमा पर्साको दुईवटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार वीरगन्जमा आयोजित कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साहलगायतका नेता पनि सहभागी थिए ।
एमाले प्रवेश गर्नेमा पर्साको बहादुरमाई नगरपालिकाकी उपमेयर गायत्रीदेवी यादव र सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा यादव नेपाली कांग्रेस र थरुनी जसपाबाट निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नेमा धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि हुुनुहुन्छ ।
कार्यक्रममा विभिन्न दल त्यागेर एमाले रोजेका जिल्ला र पालिकास्तरीय नेताहरूलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मधेसविरोधी नभएको प्रष्टीकरण दिनुभएको छ । कार्यक्रममा उहाँले आफूलाई मधेसविरोधी भनेर हल्ला चलाइएको भन्दै असन्तुष्टी जनाउनुभएको हो । ‘केपी ओली मधेस विरोधी हो भनेर हल्ला चलाए, केही स्वार्थी साथीहरुले, ६० वर्षदेखि म मधेसमा बसेको छु, इनार कसरी खन्नुपर्छ, चापाकल कसरी गाड्नुपर्छ भन्ने थाहा छ । भैंसी राँगाको पिठ्युँमा बसेर भैंसी चराउनुपर्छ मलाई थाहा छ, हलो कसरी जोत्नुपर्छ मलाई थाहा छ’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले मधेस विरोधी भन्नेहरुको सामुन्ने आफूले मधेसमा चौडा सडक बनाएको र मधेसमै सिँचाइका लागि सुनकोशी मरिन डाइभर्सनको काम सुरु गरेको दाबी पनि गर्नुभयो ।
‘पहिला ढल्केबरबाट मधेस प्रदेशको राजधानी जनकपुर जाँदा अढाइ घण्टा लागेको थियो । र गाडी पनि यति हल्लेको थियो । गाडी पनि झण्डै बिग्रेको थियो र म पनि झण्डै बिरामी भएको थिँए । केपी ओली मधेस विरोधी भन्नेले भन्दै गरे मैले त्यहाँ त्यस्तो बाटो बनाईदिएँ, अहिले २० मिनेटमा ढल्केवरबाट जनकपुर पुग्छ मान्छे’ उहाँले भन्नुभयो ।
ओलीले अघि भन्नुभयोे, ‘सुनकोशी बन्द गरेर, बाँध बाँधेर, पहाड छेडेर टनेल बनाएर, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख ८५ हजार खेत सिचाई गर्ने मरिन सुनकोशी डाइभर्सन आयोजना, आयोजनाको काम मैले सुरु गरेर काम भइराख्या छ ।’
तराईको खेत सिँचाइ गर्ने, सडक र एयरपोर्ट बनाएको भन्दै ओलीले आफू मधेसविरोधी नभएको दोहो¥याउनुभयो । ‘तराईका खेत सिँचाइ गर्ने केपी ओली मधेस विरोधी, तराईका बाटा बनाउने, एयरपोर्ट बनाउने केपी ओली अनि मधेस विरोधी ? हल्ला चलाउनेहरुले चलाउँदै गर्छन् तपाईहरुलाई थाहा छ’ उहाँले भन्नुभयो ।
फोटो पनि छ ।
मधेशी नेताहरुले ‘तिजौरी’ भरे : मेयर सरावगी
वीरगन्ज,वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगीले मधेशवादी दलका नेताहरुले मधेशलाई बेचेर आफ्नो ‘तिजौरी’ भरेको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले पर्साले मंगलवार वीरगन्जमा आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले मधेशवादी दलहरुले मधेशलाई बेचेर आफ्नो ढुकुटी भरेको बताउनुभयो । मधेशका लागि केही गर्न नसकेको र मधेशको नाम बेचेर मधेशी जनतालाई भ्रममा पारेको मेयर सरावगीको भनाइ छ । सरावगीले देश, जनता र विकासका लागि फेरि पनि केपी ओली सरकारको नेतृत्वमा आउनुपर्ने आवश्यकता औँलयाउनुभयो । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम र केपी ओलीको विकासको भिजन देखेर नै आफू एमाले प्रवेश गरेको सरावगीले बताउनुभयो ।
एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन सरावगीले नेता(कार्यकर्तालाई आग्रह गर्नुभयो । अन्य दलले मधेशको विकास गर्छाैं भनेर आश्वासन देखाए पनि एमालेले मात्रै काम गरेर देखाएको सरावगीले बताउनुभयो ।