वीरगञ्ज,राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रवारसार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पर्सा जिल्लमा निराशाजनक देखिएको छ।नतिजाअनुसार पर्सा जिल्लाबाट सहभागी विद्यार्थीमध्ये यस वर्ष नियमिततर्फ ३२.४९ प्रतिशत र प्राविधिकतर्फ १५.७१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा उत्तीर्ण हुनेको प्रतिशत केही वृद्धि भए पनि समग्र नतिजा अझै पनि उत्साहजनक नभएको विज्ञहरुको टिप्पणी छ । गत वर्ष पर्सामा २७ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए।
शिक्षा विज्ञ अनन्तकुमारलाल दासका अनुसार यस वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा केही राम्रो देखिए पनि अझै पनि यो सन्तोषजनक छैन। उहाँले गुणस्तरीय शिक्षाको अभाव र तयारीको कमजोरीका कारण नतिजामा सुधार आउन नसकेको बताउनुभयो ।पर्सा जिल्लामा नियमिततर्फ सहभागी १० हजार २३ जना जना विद्यार्थीमध्येजम्मा ३ हजार २५७ जना (३२.४९ प्रतिशत) मात्रै उतीर्ण भएका छन । जसमा ४.० जिपिए ल्याउनेमा ८ जना, ३.६ देखि ४.० जिपिए प्राप्त गर्ने ४५२ जना, ३.२ देखि ३.६ जिपिएमा ९२६ जना, २.८ देखि ३.२ जिपिएमा १ हजार २६८ जना, २.४ देखि २.८ जिपिए ल्याउनेमा ५८८ जना र २.०देखि २.४ जिपिए प्राप्त गरेर उतीर्ण हुने विद्यार्थीको संख्या २३ रहेको छ ।त्यसैगरी प्राविधिकधारतर्फको विद्यालयहरुको नतिजा पनि कमजोर नै देखिएको छ । प्राविधिकतर्फ सहभागी २१० जनामा ३३ जना अर्थात १५.७१ प्रतिशत विद्यार्थी मात्रै सफल भएका छन । जसमा १७७ जनाश्रेणीविहीन ३.६ देखि ४.० जिपिए प्राप्त गर्ने ४ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने १२ जना र २.८ देखि ३.२ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या १७रहेको छ ।यस वर्ष पर्साबाट सामुदायिक विद्यालयतर्फबाट ९ हजार ४० जना र संस्थागत विद्यालयतर्फबाट २ हजार ३६४ जना विद्यार्थीहरु एसईईमा सहभागी बनेका थिए ।

















