वीरगञ्ज,पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ४, आठघरेका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित अवैध यौन व्यवसायको विरोध जनाएका छन् ।लामो समयदेखि होटलहरूमा यौन धन्दा सञ्चालन भइरहेको भन्दै स्थानीय महिलाहरूले त्यस्ता गतिविधिमा संलग्न पुरुषहरूलाई पिटेर लखेटेका छन् ।यसअघि इलाका प्रहरी कार्यालय ठोरीमा सयौंको संख्यामा उपस्थित महिलाहरूले उजुरी दिए पनि कुनै ठोस कारबाही नभएको गुनासो उनीहरूको छ । प्रहरीले कुनै कारबाही नगरेको भन्दै महिलाहरूले आफैं संगठित भएर यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गरेको बताएका छन् ।

स्थानीय महिलाहरूका अनुसार, ठोरी गाउँपालिकाका विभिन्न स्थानमा रहेका होटलहरूमा यौन व्यवसाय खुलेआम चलिरहेको छ । अवैध गतिविधिले समुदायमा नकारात्मक प्रभाव पारिरहेको र विशेषगरी युवा पुस्ता तथा महिलाहरूको सुरक्षामा चुनौती थपिएको उनीहरूको भनाई छ ।यस घटनाले ठोरी क्षेत्रमा यौन व्यवसायको समस्यालाई पुनः चर्चामा ल्याएको छ । स्थानीय प्रशासनले यो विषयमा तत्काल अनुसन्धान गरी आवश्यक कदम चाल्नुपर्ने माग स्थानीयवासीले गरेका छन् ।प्रहरीले भने यसको विषयमा केही बोलेको छैन । महिलाहरुले होटलहरुमा हुने अनैतिक गतिविधिहरुको विषयमा आवाज उठाएपनि विषय सामान्य रहेको प्रहरीको बुझाई छ । घटनाको विषयमा इलाका प्रहरी कार्यालय ठोरी र प्रहरी चौकी विजयवस्तीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेर पनि गरेका छैनन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास भट्टका अनुसार अहिलेसम्म कुनै त्यस्तो जानकारी आएको छैन ।

















