निजगढ,निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि नवजनजागृति युवा क्लव सिमरा बारा र नेपाल खेलकुद क्लब रौतहटबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा बारा एघारलाई २–० गोल अन्तरले पराजित गर्दै नवजनजागृति युवा क्लवले उपाधिकोलागि नेपाल खेलकुद क्लबसङ्ग उपाधी भिडन्त पक्का गरेको हो । नवजनजागृतिमाथि पहिलो हाफमा हाबी देखिएको बारा एघारले दोश्रो हाफमा लय गुमाउदा पराजय बेहोर्नु परेको थियो ।
नवजनजागृतिको लागि मोहित गुरुङले ५३ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोश्रो हाफमा बारा एघारलाई निरन्तर दबाबमा राखेको नवजनजागृतिका सुशान्त तामाङले ६९ औ मिनेटमा गोल गर्दै २–० को जित दिलाए । खेलको म्यान अफ द म्याच नवजनजागृति युवा क्लव सिमरा बाराका कप्तान रोहन तामाङ घोषित भए । म्यान अफ द म्याच घोषित तामाङले दुई हजार रुपैयाँ प्राप्त गरे ।
यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा निजगढलाई पराजित गर्दै नेपाल खेलकुद क्लब रौतहट प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ । नेपाल खेलकुद क्लव रौतहट र नवजनजागृति युवा क्लब सिमराबीच उपाधिकोलागि शनिबार प्रतिस्पर्धा हुनेछ । निजगढस्थित कछाडिया खेल मैदानमा संचालन हुने खेल अपरान्ह तीन बजेदेखि शुरु हुनेछ ।
प्रतियोगिताको बिजेताले उपाधी सहित एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले पचहत्तर रुपैयाँ प्राप्त गर्नेछ । तेस्तै विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राईकर र सर्वाधिक गोलकर्ताले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन ।


















