पुष्पराज खतिवडा

मनहर्वा,जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को पसाह खोलामा पक्की पुल बन्ने भएको छ ।

सिमरा–कोल्हवी (रजैया) सडकखण्ड अन्तर्गत पसाहमा बन्न लागेको पुलको डिपिआर सम्पन्न भएर साईड क्लियर गर्ने कामको थालनी भएको हो । उपमहानगरको वडा नम्बर १७ को कार्यालयले बिहिवार ३५ दिने सूचना जारी गर्दै सो क्षेत्रमा जग्गा पर्ने भए सरोकारवालाहरुलाई हकदाबी गर्न अनुरोध समेत गरेको छ ।

बारा क्षेत्र नम्बर ३ का संघीय सांसद रामबाबुप्रसाद यादवका अनुसार नेपाल सरकारले जैतापुर–रामनगर जोड्ने सो पुलको करिब ५ वर्षअघि डिपिआर तयार गरिसकेको थियो । तर बजेट भने नछुट्याइएकाले पुल निर्माण प्रकृया अन्यौलमा थियो । हाल करिब पुल निर्माणको लागि २३ करोड बजेट विनियोजन भएको छ । निमार्णका क्रममा हाल अनुमान गरिएको लागत बढ्न सक्ने सांसद यादवले जानकारी दिनुभयो ।

खोलाले धार परिवर्तन गरेका कारण खोलाको चौडाइ ९ सय मिटर पुगेको भएपनि हाल दुईसय मिटर मात्र लामो पुल बन्ने भएको छ । सोको निर्माणका लागि एक महिनाभित्र ठेक्का प्रकृया सुरु गरिने सांसद यादवले बताउनुभयो ।

पुल निर्माण प्रकृयाका लागि जीतपुरसिमरा उपमहानगरपालिकाको अगुवाइमा साईड क्लियर गर्ने काम भइहेको वडा नम्बर १७ का अध्यक्ष भिमबहादुर गंतानले बताउनुभयो । गंतानका अनुसार संघीय सांसद यादव, नगरपालिका कार्यकारी प्रमुख चेतकुमार पोखरेल, प्रमुख ईजिनियर रामनरेश यादव, नगरपालिका अमिन, स्थानीय जनप्रतिनिधि र सामाजिक अगुवाहरुको रोहबरमा पुल निर्माण हुने क्षेत्रको अनुगमन गरी चार किल्ला निर्धारण गरिएको छ । उहाँले पुल निर्माण गरिने क्षेत्रमा पर्ने जग्गाधनीको लागि दाबी गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशन समेत गरिएको बताउनुभयो ।

खोलामा पुल नहुँदा एउटै वडाबाट स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको र बर्षामा बाढी डुवान र हिलो अनी सुख्खायाममा बालुवा र धुलोका कारण हैरानी खेप्नु पर्ने बाध्यता रहेको वडा नम्बर १७ रामनगरका आत्मादेव भट्राईले बताउनुभयो ।

जिल्लाको मध्यभागमा रहेको र अतिव्यस्त सडकखण्डमा पुल नहुँदा जंगलको लामो र घुमाउरो बाटो भएर जोखिमपूर्ण यात्रातय गर्दै आएका स्थानीय पुल बन्ने भएपछि खुसी भएको भट्राईले बताउनुभयो ।

Leave a Reply