नरेश गुप्ता
बरियारपुर,भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धधन सम्बन्धि जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम बुधवार कलैयामा सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले कलैयास्थित होटेल करणराज प्यालेसमा आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका उपसचिव बेदप्रसाद भण्डारी तथा आयोगको हेटौंडा कार्यालयका सहसचिव अर्जुन कुमार शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचारको अवधारणा, भ्रष्टाचार हुने कारण र त्यसका असरहरुको बारेमा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी गराइएको थियो । त्यसैगरी भ्रष्टाचार नियन्त्रणको आवश्यकता, भ्रष्टाचारका कसुरहरु तथा सजायको प्रावधान, भ्रष्टाचार नियन्त्रणका लागि सवैधानिक कानुनी र संरचनागत व्यवस्थाको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस बापत रकम लिइएको ठहर भएमा अख्तियार दुरुपयोगले कानुनी व्यवस्था अनुसार दण्ड सजायको प्रक्रिया अगाडि बढाउने गरेको सो अवसरमा जानकारी गराइयो ।
भ्रष्टाचारको मुख्य कारणमा कमजोर लोकतन्त्र, महङ्गो निर्वाचन प्रणाली, राजनीतिक दृढ़ ईच्छा शक्तिको कमी, दण्डहिनता रहेको आयोगको ठहर रहेको कार्यक्रममा जानकारी गराइएको थियो । आर्थिक वर्ष ०७७÷०७८ मा आयोगमा कुल २२ हजार ६ सय २५ उजुरीहरु दर्ता भएकोमा १४ हजार ५ सय ३२ वटा फस्यौट भएको र १ सय १४ वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय भएको छ । त्यसैगरी ४ सय ४३ जना व्यक्तिलाई प्रतिवादी बनाएर १ अरब, ८९ करोड, ५५ लाख ५० हजार ४ सय ३२ रुपैया बिगो मांग दाबी लिइएको अख्तियारले जनाएको छ । सन २०२१ मा नेपाल विश्व भ्रष्टाचार सुचाकाङ्कमा १ सय १७ औ स्थानमा परेको पनि जानकारी गराइएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रमको अध्यक्षता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा हरि पौडेलले गर्नुभएको थियो ।