नरेश गुप्ता
बरियारपुर,गरिव, असहाय तथा विपन्न वर्गका महिलाहरुको जीविकोपार्जको लागि बाराको देवताल गाउँपालिका अध्यक्ष उदयचन्द यादवले माउँ बाख्रा सहयोग गर्नुभएको छ । अध्यक्ष यादवले गाउँपालिकाको वडा नम्बर ३ अमाव टोलका विपन्न समूदायका महिलाहरुलाई बाख्रा वितरण गर्नु भएको हो ।
देवताल गाउँपालिकाको आ व ०७८÷०७९ मा बिनियोजित बजेटअनुसार महिलाहरुलाई उन्नत जातको बाख्रा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले महिलाहरुको जीवनस्तर उकास्न निःशुल्क रुपमा बाख्रा वितरण गरिएको बताउनुभयो । गरिब, असहाय र बिपन्न परिवारलाई आत्मनिर्भर बनाउन बाख्रा सहयोगले मद्दत मिल्ने उहाँको अपेक्षा छ ।
सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पाल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

















