कलैया उपमहानगरपालिका वडा नम्बर– ७ रंगपुरका दुई बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव फेला परेको छ । उनीहरुको शव स्थानीय निर्माणाधिन मदर्सामा भेटिएको हो । दुबै बालक सहोदर दाजु÷भाइ हुन ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । स्थानीय २८ वर्षका युवकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिको पहिचान भने अहिले खुलाउन नसकिने मिश्रले बताउनुभयो । ‘स्थानीय एकजनालाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ,’ उहाँले भन्नुभयो, ‘प्रहरी हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी जफार अन्सारीका ९ वर्षका छोरा उस्मान अन्सारी र ७ वर्षका छोरा अमिन अन्सारीको शव घाँटी रेटी हत्या गरी फालिएको अवस्थामा फेलापरेको थियो । सोमबार साँझ खेल्न भनेर घरबाट निस्किएका दुबैजना बालक रातिदेखि नै हराएका थिए । धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा वडा नम्बर ७ कै मदर्साको निर्माणाधिन भवनमा दुबको शव फेला परेपछि महोत्तरीको बर्दिबासबाट मगाइएको तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले घटनास्थलमा गएर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा सोही स्थानका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको प्रकृति हेर्दा हत्या नै गरिएकोले दुबैजना बालकको कसले र किन हत्या गरयो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता मिश्रको भनाइ छ । हत्या गरिएका बालक समान्य परिवारको रहेकाले धन सम्पति भन्दापनि व्यक्तिगत रिसिबीमा कसैले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले आशंका गरेको छ ।यसैबीच बारा प्रहरीले बालक हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेको छ तर उनको नाउ भने बारा प्रहरीले गोप्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here