वीरगञ्ज,संघीय सत्ता गठबन्धनमा भारी फेरबदल भएको बखत जनमत पार्टीले मधेश प्रदेशमा सरकारको नेतृत्वलाई निरन्तरता दिए मात्र कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने शर्त अघि सारेको छ । जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले मधेश प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धनले सहयोग गरे केन्द्रीय गठबन्धनमा सहभागी हुने बताउनुभएको छ ।
गत जेठ २५ गते मधेश प्रदेशमा एमाले, माओवादी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सभासद सतीशकुमार सिंहको नेतृत्वमा सरकार गठन भएको थियो । सरकारले आउँदो २२ गते शनिवार विश्वासको मत लिने अन्तिम दिन हो । मुख्यमन्त्री सिंहलाई विश्वासको मत लिन सो दिन बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

जनमत पार्टीका प्रवक्ता डा. यादवले भनेका छन्, “हाम्रो प्राथमिकता मधेस प्रदेश हो। मधेश सरकारमा सहयोग पाए हामी केन्द्रमा कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्छौँ । “कांग्रेसका एकजना पदाधिकारीले भने मधेश प्रदेशको सवालमा कांग्रेस र एमालेबीच छलफल नभएको बताएका छन् ।
सरकार गठन हुँदा मुख्यमन्त्री सिंहले ५४ जना सभासदको हस्ताक्षर पेश गरेका थिए । प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पास भए पनि बजेट माथिको छलफल सुरु हुन सकेको छैन । मुख्यमन्त्री सिंहले बजेटमा व्यापक त्रुटि रहेकोले पुनर्लेखन गरिने सार्वजनिक रुपमा नै बताएका छन् । विपक्षी दलहरुले बजेट पुनर्लेखन गर्दा समानुपातिक हुनुपर्नेमा जोड दिएका छन्। सरकारको विपक्षमा ५० जना सभासद रहेका छन् ।


















