वीरगन्ज,हुण्डी कारोबार गरेको आरोपमा पर्सा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका तिनैजनाबाट स्रोत नखुलेको १९ लाख ४० हजार रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) आशुतोषबहादुर शाहीको नेतृत्वमा खटिएको विशेष टोलीले तीनैजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने ३२ वर्षीय छठू महतो, परवानीपुर गाउँपालिका ३ लिपनीमाल निवासी ३४ वर्षीय कृष्णप्रसाद सोनार र ३९ वर्षीय सुनिल साह कानु रहेका छन् । इन्स्पेक्टर शाहीको टोलीले उनीहरुलाई छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।विशेष सूचनाको आधारमा इन्स्पेक्टर शाहीको टोलीले छठू महतोलाई वीरगन्ज महानगरपालिका ११ स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको थियो । बुधबार विहान प्रहरीले प्राप्त गरेको सूचनाको आधारमा उक्त सडकखण्डमा महतोले चलाइरहेको प्रदेश ३ ०३ ००१ प १२३३ नम्बरको मोटरसाइकललाई रोकेर खानतलासी गर्दा उनले हेल्मेट तथा मोटरसाइकलको वायाँ तर्फको भागमा फल्स बनाई पैसा लुकाएको भेटिएको थियो ।प्रहरीले उनको साथबाट १४ लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिनुभयो । महतोले पैसाको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसँगै उनलाई नियन्त्रणमा लिइएको गिरीले बताउनुभयो ।त्यस्तै शाही नेतृत्वकै टोलीले वीरगन्ज(८ स्थित सडकखण्डबाट सोनार र कानुलाई मङ्गलबार दिउँसो नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट पाँच लाख रुपैयाँ बरामद गरिएको डिएसपी गिरीले जानकारी दिनुभयो । शङ्कास्पद अवस्थामा हिँडिरहेका दुवैलाई रोकेर खानतलासी गर्दा सोनारले बोकेको कालो झोलाबाट एक लाख ६० हजार र कानुले लगाएको पाइन्टको खल्तीबाट तिन लाख ९० हजार रुपैयाँ गरी जम्मा पाँच लाख ५० हजार रुपैयाँ बरामद गरिएको थियो । डिएसपी गिरीकाअनुसार उनीहरुले पनि पैसाको स्रोत खुलाउन सकेनन् ।तिनै जनालाई नियन्त्रणमा लिएर उनीहरुविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा बुधबार नै पर्सा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको गिरीले बताउनुभयो ।


















