बिहीवार वरिगन्जमा आएर काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन चुनावसम्म जाने बताए । त्यसो त स्थानीय निकाय निर्वाचनको मिति नजिकिएसँगै दलहरुबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । पाँच दलीय गठबन्धन कायम राख्दै आउँदो स्थानीय निर्वाचनमा सँगै अघि बढ्ने दाउमा रहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको चाहनामा नेपाली कांग्रेस बाधक बन्ने देखिएपछि माओवादी केन्द्र कांग्रेसप्रति आक्रामक बन्दै गएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुका कारण सत्ताको सिंहासनमा पुगेको कांग्रेसले जथाभावी बोल्नु अनुचित रहेको बताउनुले गठबन्धन धरापमा पर्न लागेको हो कि भने शंका गर्न सकिन्छ । सत्ताका लागि जस्तोसुकै कठोर निर्णय गर्न बाध्य हुनुभएका प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई कांग्रेसजनहरुले नै प्रश्न गर्न थाल्नुले कतै गठबन्धन भत्कने त होइन भन्ने विश्लेषण पनि गर्न थालिएको छ ।

सत्ता गठबन्धनबीचको अविश्वास बढ्दै जानुले आउँदो स्थानीय निर्वाचनमा उनीहरुबीच गठजोड नहुने हो कि भन्ने आशंका पैदा गरिदिएको छ । आउँदो निर्वाचनमा कांग्रेससँग जसरी पनि गठबन्धन गरेर अघि बढ्ने माधव नेपालको चाहनामा पनि धक्का लाग्न सक्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने पाँच दलीय गठबन्धनको योजनामा कांग्रेस बाधक बन्ने देखिएपछि सत्तारूढ दलबीच नै अविश्वास पैदा हुनु पक्कै राम्रो होइन ।

मुलुकको विकासभन्दा पनि आफ्नो दललाई आगामी निर्वाचनमा कसरी आफ्नो उपस्थिति देखाउने भन्ने चिन्ता दलहरुबीच हुनुले उनीहरु मुलुकको विकासभन्दा पनि आफ्नो दललाई कसरी बलियो बनाउने भन्ने दाउमा लाग्नुले उनीहरुको उद्देश्य के हो भन्ने प्रस्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here