मनहर्वा, बरियारपर,जीतपुरसिमरा उपमहानगरपालिका– १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले प्रबद्र्धन गरेको जिल्लाका दुईवटा सहकारीको शुक्रबार एक विशेष समारोहबीच व्यवस्थापन हस्तान्तरण गरिएको छ । मनहर्वा संस्थाले २०७४ श्रावणबाट अनुशरण कार्यक्रमका रुपमा जिल्लाको कलैया उपमहानगरपालिका– १८ मोतीसर र प्रसौनी गाउँपालिका– २ प्रसौनीलाई व्यवस्थापन जिम्मा लगाइएको हो ।
कार्यक्रमको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले उद्धाटन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनु भएका महासंघ अध्यक्ष कँडेलले नेपालमा गरिबी न्युनीकरण गर्ने महत्वपूर्ण माध्यमका रुपमा सहकारीलाई लिइने गरेको बताउनु भयो । एकका लागि सबै, सबैका लागि एकको अवधारणमा सहकारीले काम गर्ने भन्दै अध्यक्ष कँडेलले यस्तो अभियानमा जोडिने भएका सबैलाई धन्यवाद दिनु भयो । नेपालको संविधानमा समेत सरकार सहकारी र निजी क्षेत्रलाई देश समृद्धिको माध्यम मानेको र गरिबी निवारण अभियानको रुपमा सहकारीले आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भुमिका खेल्दै आएको उहाँले बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ लिमटेडका अध्यक्ष खेमबहादुर पाठकले साना किसान कार्यक्रम र यसले समाज परिर्वतनमा खेलेको भुमिकाका बारेमा चर्चा गर्नु भयो । गरिब विपन्न मुुसहर, चमार एवं पछाडि परेका समुदायका महिलाहरुले स्थान र अपनत्व महसुस गर्ने एकमात्र कार्यक्रमका रुपमा साना किसान कार्यक्रम स्थापित भएको अध्यक्ष अध्यक्ष पाठकले बताउनु भयो । उहाँले देशका करिब ७५ जिल्लामा साना किसान अभियान संगठित भएको बताउनुभयो । आर्थिक कारोबारसँगै ग्रामिण क्षेत्रमा कृषि उत्पादन वृद्धि, महिला शसक्तीकरण, सीप, क्षमता विकासमा अभियानले महत्वपूर्ण भुमिका निर्वाह गरेको अध्यक्ष पाठकले बताउनु भयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ता, उपाध्यक्ष गीता साह, बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुर, साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाकी प्रबन्धक कृष्णकुमारी शर्मा, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, बिग ईन्टरनेसनल काठमाण्डौका नवराज बुर्लाकोटी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका संचालकहरु, स्थानीय समाजसेवीहरु र दुबै संस्थाका गरी करिब ६ सय मानिसको सहभागिता रहेको थियो ।
कार्यक्रममा अनुशरण कार्यक्रम गर्ने संस्था मनहर्वा र अनुुसरणित हुने मोतीसर र प्रसौनीलाई परिपक्कताको प्रमाण पत्र वितरण गरिएको थियो । ती संस्थाहरुलाई प्रमुख अतिथि कँडेल र पाठकले प्रमाण पत्र वितरण गर्नु भएको हो ।
साना किसान कृषि सहकारी संस्था मोतीसर र प्रसौनीले छोटो समयमा करिब १ हजार सदस्यकाबीच झण्डै ८ करोडको कारोबार गर्दै आएका छन् ।