हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे प्रहरी चेकपोष्टमा सवारीसाधनको लागि सेनिटाइज टनेलको सोमबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिवन काटेर उक्त टनेलको उद्घाटन गरेका हुन् ।
कोरोनाभाइरस (कोभिड(१९) संक्रमणको त्रास दिनप्रतिदिन बढ्दै गएको र यसको रोकथाम तथा नियन्त्रणको लागि हेटौंडाको रातोमाटेमा बागमती प्रदेश सरकारको लगानी र मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा सेनिटाइज टनेलको स्थापना गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाको उपस्थिती रहेको थियो ।
तराईका जिल्लाबाट मकवानपुर जिल्लामा भित्रिने सबै सवारीसाधनले उक्त चेकपोष्टको टनेलमा अनिर्वाय रुपमा सेनिटाइज गर्नुपर्नेछ । यसअघि रातोमाटेमा हेटौंडा उपमहानगरपालिकाले मानिसको लागि सेनिटाइज मेसिन जडान गरिएको थियो ।