निजगढ,कोरोना भाइरस प्रकोप न्युनीकरण बजार अनुगमन समितिले बुधबार निजगढ बजार क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ । समितिका संयोजक एंव निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालको नेतृत्वमा बिहान ९ बजेदेखि ११ बजेसम्म बजार क्षेत्रका पसल अनुगमन गरिएको हो । समितिले निजगढस्थित इलाका प्रहरी कार्यालय अगाडिबाट जमुना पैनीसम्म राजमार्गका दायाँ बायाँ क्षेत्रमा संचालित पसल तथा व्यवसायको अनुगमन गरेको थियो । टोलीले व्यवसायी तथा सर्वसाधारणले कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरे नगरेको बारेमा अनुगमन गरेको समितिका संयोजक रामकृष्ण नेपालले बताउनुभयो । अनुगमन टोलीमा इलाका प्रहरी कार्यालय निजगगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरी, सशस्त्र प्रहरी वेस क्याम्प निजगढका प्रहरी नायव उपरीक्षक एकराज बुर्लाकोटीलगायत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, उद्योग बाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुको पनि सहभागिता रहेको थियो । अनुगमनको क्रममा माक्सको प्रयोग नगरेका सर्वसाधारण र व्यवसायीलाई प्रहरीले सम्झाइबुझाई गरेर माक्स समेत वितरण गरिएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।