सिमरा,“शितलहरमा साथ, न्यानोपनमा विश्वास” भन्ने नाराका साथ बाराको गढीमाई साझेदारी वन उपभोक्ता समूह, पथलैयाले उपभोक्ताहरुलाई आगो ताप्ने दाउरा निःशुल्क वितरण गरेको छ ।जिल्लामा बढ्दो चिसो र कठ्याङ्ग्रिँदो शितलहरका कारण सर्वसाधारणको दैनिकी प्रभावित भइरहेका बेला वन समूहले केही दिनदेखि आगो ताप्ने कार्यक्रम संचालन गर्दैआएको छ ।

डिभिजन वन कार्यालय, बाराको समन्वयमा सञ्चालन भइरहेको उक्त अभियानअन्तर्गत बाराका जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकाका २४ वटा वडामा सर्वसाधारणको बढी आवतजावत हुने मुख्य सडक, चोक तथा सार्वजनिक स्थलहरूमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरिएको गढीमाई साझेदारी वन उपभोक्ता समूह, बाराका अध्यक्ष रामएकवाल साह तेलीले जानकारी दिनुभयो ।
गढीमाई साझेदारी वनका वन प्राविधिक शैलेन्द्र यादवका अनुसार चिसोका कारण वृद्धवृद्धा, बालबालिका, विपन्न वर्ग तथा सडक प्रयोगकर्ताहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको हो । बिहान र साँझको समयमा अत्यधिक चिसो हुने हुँदा आगो ताप्ने स्थलहरूमा स्थानीयको उल्लेख्य उपस्थिति रहने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमबाट यात्रु, मजदुर, सवारी चालक तथा सर्वसाधारणले तत्काल राहत महसुस गरेका छन् । शितलहरका कारण स्वास्थ्य जोखिम बढ्ने अवस्थामा यस्तो मानवीय तथा सामाजिक उत्तरदायित्वको कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूको भनाइ छ ।

गढीमाई साझेदारी वन उपभोक्ता समूहले वन संरक्षणसँगै सामाजिक सेवा पनि आफ्नो दायित्व भएको उल्लेख गर्दै मौसम अनुकूल रहेसम्म अभियानलाई निरन्तरता दिने जनाएको छ । साथै, अन्य संघ–संस्था तथा स्थानीय तहसँग सहकार्य गर्दै आगामी दिनमा थप राहत तथा जनहितका कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिइएको छ ।

Leave a Reply