नरेश गुप्ता

बरियारपुर,बाराको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १ जना महिलासहित २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जिल्लाको बरियारपुर, कोल्हबी र जीतपुरसिमरामा मंगलवार राति भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।

हुलाकी मार्गको कलैया– बरियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ पथरहट्टी मोडमा मोटरसाइकल अनियन्त्रित हुदा मंगलबार राती एक पुरुषको मृत्यु भएको छ ।

हुलाकी मार्गमा रौतहटको मौलापुरबाट कलैयातर्फ आउदै गरेको ना५६ प ५६६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ निवासी वर्ष ३५ को रोशन यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलमा पछाडि सवार दुवैजना घाइते भइ उपचारको लागि जिल्ला अस्पताल कलैयामा पठाइएको थियो । मोटरसाइकलको पछाडि बस्ने सोही ठाँउका वर्ष ३५ का मनोज यादवको अबस्था गम्भीर रहेको तथा कलैया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर २६ महेशपुरस्थित कलैया बजारबाट खम्बा टोलतर्फ जादै गरेको ना.७ ख ७९८४ नम्बरको टिपरले बिजुलीको पोलमा ठक्कर दिदा उक्त बिजुलीको पोल भाँचिएपछि उक्त पोलले विपरित दिशाबाट आउदै गरेको ना. ६४ प ६०३७ मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर १५ खम्बाटोल बस्ने वर्ष ४५ का उमाशंकर महतो, सोही ठाउँ वर्ष २६ का रामनाथ पासवानको वर्ष १० का छोरा रवी पासवान, वर्ष १५ की अंजलीकुमारी पासवान र पैदल यात्री .कलैया वडा नम्बर १५ बस्ने वर्ष ३० का नन्द किशोरप्रसाद घाइते भएका छन ।

त्यसगैरी कलैया उपमहानगरपालिका वडा नम्बर२४ श्रीपुरस्थित कलैया पिलुवा सडक खण्डमा सखुई तर्फबाट कलैयातर्फ आउदै गरेको ना.४९ प.९२९५ नम्बरको मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिंदा कलैया उपमहानगरपालिका वडा नम्बर.१८ परास टोल बस्ने .वर्ष ३६ को श्रीभगवान सहनीको टाउको र ढाडमा चोटलागेको छ । मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३५ को दिपक अधिकारीको हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ । दुवै घाइतेलाई उपचारको लागि कलैया अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

महाशिवरात्री पर्वमा बाराको हुलाकी मार्ग लगायत भित्री सडकखण्डमा सवारी साधनको चाँप मंगलबार निकै बढेको र दुर्घटना पनि बढेको ट्राफिक पोष्ट कलैयाका ट्राफिक नायब निरीक्षक जयराम पुडासैनीले जानकारी दिनुभयो । तिब्र गति तथा मोटरसाइकलना तीन÷तीन जना सवार हुँदा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना बढेको उहाँको भनाइ छ ।

त्यसैगरी जिल्लाको कोहल्वी नगरपालिका वडा नम्बर ६ अधन्वामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । मंगलवार साँझ ७ बजेतिर ना.६४ प७२४ नम्बरको मोटरसाइकलले स्थानीय ८५ वर्षीय भोलिया देवी थरुनीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी उनलाई उपचारका लागि सूर्य अस्पताल वीरगन्ज ल्याइएको थियो । उपचारको क्रममा राति १० बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालका चिकित्सकले बताए ।

ठक्कर दिने मोटरसाइकल चालक कोल्हबी नगरपालिका वडा नम्बर ८ निवासी २५ वर्षीय बरिष्ठ चौधरीलाई वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।

त्यसैगरी मंगलवार बेलुकी नै भएको सवारी दुर्घटनामा १ जना घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसबरिया टोलस्थित नहर सडक खण्डमा मोटरसाइकल अन्यिन्त्रित हुँदा चालक घाइते भएका हुन् । बिआर ०५५ जेट १६५१ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारतको मोतिहारी ग्राम निरपुर बस्ने २५ वर्षीय सियाराम कुमार लहेराको टाउको र अनुहारमा चोट लागेको प्रहरी चौकी कचोर्वाले जानकारी दिएको छ । घाइते लहेराको सिम्रौनगढस्थित नगर अस्पतालमा उपचार भईरहेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित सडकखण्डमा पनि सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.१ ख २०६५ नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउँदै गरेको प्र.२–०३–००१ ख ४४४४ नम्बरको टिपर एकआपसमा ठोक्किदा दुवै चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुवै सवारी साधनमा क्षति हुनुका साथै दुवै जना चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here