सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका र साथी नेपालको आयोजनामा बुधवारदेखि चारदिने महिला प्रजनन सम्बन्धी स्वास्थ्य शिविर सुरु भएको छ । डुमरवाना र जीतपुरमा दुई÷दुई दिन आयोजना हुने शिविर सुरु भएको हो ।
डुमरवानास्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा विशेषज्ञको टोलीसहित आयोजित शिविरको पहिलो दिनसात सय महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । सामुदायिक सेवा प्रतिष्ठानसंगको सहकार्यमा भएको शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोगको पहिचान र उपचार, आङ्ग खस्ने समस्याको उपचार, पाठेघरको एक्सरेलगायत महिला प्रजनन सम्बन्धी रोगको परीक्षणको गरिएको हो ।
प्राविधिक टोलिसहितको शिविरमा अमेरिकाबाट आएका विशेषज्ञ चिकित्सक डा. शितेष कोइराला, स्त्री रोग विशेषज्ञ डा. रिति लामिछाने, रुपा कर्माचार्य, पुष्पा कर्माचार्यलगायत ११ जना रहेका छन् । टोलीले महिलामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या रहे नरहेको तत्काल जाँच गर्ने र समस्या देखिएका विरामीलाई निशुल्क शल्यक्रियाका लागि प्रक्रिया अगाडी बढाइने प्रतिष्ठानका सदस्य महादेव बानियाले जानकारी दिनुभयो ।
शिविरको पहिलो दिन पाठेघरमा समस्या भएका १६ जना महिलाको शल्यक्रिया गर्नुपर्ने देखिएको बानियाँले बताउनुभयो । उपचारका क्रममा समस्या देखिएका विरामीको सम्पूर्ण खर्च शिविरको आयोजकले व्यहोर्ने बानियाँले जानकारी दिनुभयो । प्रजनन सम्बन्धी समस्या भएपनि जाँच गराउन नसकेका र जाँच गराएर पनि उपचार गराउन नसकेका विरामीलाई शिविरले राहत दिने बानियाँको भनाइ छ ।
शिविरमा जाँच गराउन आउने महिलाका लागि आयोजकले निःशुल्क यातायातको व्यवस्था समेत गरेको थियो । यातायात सुविधासहित निःशुल्क उपचार गरिने शिविरमा जाँच गराउन उलेख्य मात्रामा महिलाको उपस्थिति रहेको थियो ।
साथी नेपालसंगको सहकार्यमा उपमहानगरपालिकाले आयोजना गरेको शिविर डुमरवानापछि जीतपुर पुग्नेछ । डुमरवानामा दुई दिनको शिविर सकेर प्राविधिक टोली जीतपुरस्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय पुग्नेछन् । जीतपुरमा फाल्गुन २० र २१ गते शिविर संचालन हुनेछ । उक्त शिविरमा अन्य वडाका महिलाहरुको स्वास्थ्य परीक्षण हुनेछ ।
यसअघि शिविरको उद्धाटन उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेल र उपप्रमुख सरस्वती चौधरीले गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने, स्वास्थ्य शाखा प्रमुख रवि भाष्कर, डा. दीपक गिरी, स्वास्थ्य शाखाका कर्मचारी जितन ठाकुर, साथी नेपालकी सरिता सापकोटालगायतको उपस्थिति थियो ।