वीरगञ्ज,पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताउनुभएको छ ।वीरगञ्जमा शनिवार आयोजना गरिएको नागरिक अभिनन्दनलाई शंवोधन गर्दै पूर्वराजा शाहले सो कुरा बताउनुभएको हो ।

दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्थाको संज्ञा दिदै पूर्वराजा ज्ञानेन्द्रले सो घटनामा राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको बताउनुभयो ।
‘हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए । दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलका करण अझ पनि मानिसहरु बहकिरहेको भन्दै उहाँले भन्नुभयो, ‘दरवार हत्याकाण्डपछि फैलाइएको हल्ला अन्यायपूर्ण मात्र होइन, यो दुर्भाग्यपूर्ण पनि छ ।’पूर्व राजा ज्ञानेन्द्रले तराई मधेशको उर्वर भूमि उजाड बन्दै गइरहेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभएको छ । शाहले तराई, पहाड हिमाल सबै क्षेत्र उजाड बन्दै जानु गम्भीर चिन्ताजनक विषय भएको पनि बताउनुभयो । उत्पादन र कृषिबाटै विकास र समृद्धि ल्याउन सकिने क्षेत्रमा उजाड बन्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘उर्वर मधेसको जमिन आज उजाड बन्दै गइरहेको छ, पोखरी, पानीको स्रोत, ट्युबेल, कुवाँ धारा तथा जल सतह कमजोर बन्दै सुक्खा, खडेरी तथा मरुभूमीतर्फ परिणत हुँदै जानु गम्भरी कुरा हो ।’देशमै रोजगारीको सृजना नहुँदा युवा शक्ति विदेशिन बाध्य भएको शाहले बताउनुभयो । गरिबीको विदेशिनु पर्ने बाध्यताको अन्त्यका लागि जागरुप हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी हाम्रा पूर्खाको पौरखलाई नभुलौं । यही आफ्नो जन्मभूमिका लागि मरिमेटौं । हाम्रा समस्या हामी आफैले समाधान गर्नुपर्छ ।’देशभित्रका प्राकृतिक स्रोत साधन र यहीँका जनशक्तिको सदुपयोग गर्दै विकास गर्नुपर्ने उहाँको भनाई छ । जातजाति, धर्म, संस्कृतिमा खण्डित नभएर विभेदको, बिखण्डनको र विग्रहको र निषेधको राजनीति गर्न नहुने उहाँले सुझाव दिनुभयो ।नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुगनपुग ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।

अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको उहाँको भनाई थियो ।वीरगञ्जस्थित लालबंगलामा नागरिक अभिनन्दन मूल समारोह समितिले पूर्वराजा शाहको नागरिक अभिनन्दन गरेको थियो । अभिनन्दनमा पूर्व रानी कोमल शाह लगायत राजावादी संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिसँगै समर्थकहरुको उपस्थिति रहेको थियो । पशुपति विक्रम शाहले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण हिराबहादुर चन्दले गर्नुभएको थियो ।कार्यक्रममा पर्सा, बारासहित विभिन्न जिल्लाबाट हजारौँको संख्यामा राजसंस्था समर्थक उपस्थित थिए । समारोहमा सहभागी भएकाहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा प्राणभन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका थिए ।

Leave a Reply