वीरगञ्ज । वीरगञ्जमा लामो समयदेखि जीर्ण रहेको सडक मर्मत भइरहेको छ । रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको जीर्ण सडकमा प्याचिङ र ओभरले गर्ने गरी काम भइरहेको हो ।

नेपाल–भारत जोड्ने मुख्य नाका वीरगञ्ज–रक्सौलको मितेरी पुलको नेपाल तर्फ पर्ने १३७ मिटर खण्ड पनि कालोपत्रे हुने भएको छ ।

मितेरी पुलदेखि उत्तर शंकराचार्यद्वार, भन्सार कार्यालय हुँदै रजतजयन्ती चोकसम्मको सडक जीर्ण हुँदा आवागमनमा समस्या हुँदै आएको थियो । व्यापारिक विस्तार मार्ग विस्तार आयोजना कार्यालय मार्फत ठेक्का लिएको समा कन्स्ट्रक्सनले अहिले धमाधम काम गरिरहेको छ । त्यस क्षेत्रमा १४ मिटर चौडा सडकमा कालोपत्रे गर्न लागिएको छ ।

अहिले एकातर्फको ७ मिटरमा प्राइम कोट भइरहेको छ । एकातर्फको काम सकिएपछि अर्कोतिर काम अघि बढाउने आयोजना कार्यालयले जनाएको छ ।

वीरगञ्जको जीर्ण सडक मर्मतका लागि भन्दै व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले दुई वटा प्याकेजमा ठेक्का लगाउने गरी २०७८ को पुस ५ पुसमा सूचना निकालेको थियो । ५/५ करोड रुपैयाँको दुई वटा प्याकेजमा सडक मर्मत गर्ने योजना थियो ।

अनलाइन आवेदन माग गर्दा रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको १.३ किलोमिटर सडकका लागि समा कन्सट्रक्सन र पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्मका लागि सागर/निरीक्ष जेभीले आवेदन दिएका थिए ।

प्राविधिक मूल्यांकनमा दुवै कम्पनी पास भए । आर्थिक प्रस्ताव गर्दा सागर/निरीक्ष जेभीले लागत अनुमान गरिएभन्दा ०.३४ प्रतिशत बढी रकम राखेर प्रस्ताव गरेपछि ठेक्का रद्ध गरियो । घण्टाघर क्षेत्रको सडक वीरगञ्ज महानगरपालिकाले कालोपत्रे नै गरिसकेको छ भने पावरहाउस चोकमा सडक अझै जीर्ण छ ।

व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका इन्जिनियर सञ्जिव कुमार गुप्ताले चुनाव अघि एक चरणको कालोपत्रे सक्काउने गरी काम अघि बढीरहेको जानकारी दिए । तर मालवाहक सवारी साधनको निरन्तरको चापले गर्दा काम गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

अर्को खण्डमा समा कन्सट्रक्सनले १.३४ प्रतिशत कममा आर्थिक प्रस्ताव हालेको थियो । २५ फागुनमा साढे तीन महिनामा काम सक्ने गरी योजना कार्यालयले समासँग सम्झौता गरेको थियो । समाले काम सुरु गर्न सामान पनि खसालेको थियो । तर मिलेमतोमा ठेक्का हुन लागेको भन्दै सगरमाथा इन्फ्राटेक प्रालिको तर्फबाट दीपेशमान महर्जनले सर्वोच्च अदालतमा १३ फागुनमा नै मुद्दा दर्ता गरिसकेका रहेछन् । मुद्दा टुंगो नलाग्दा काम अघि बढ्न सकिरहेको थिएन ।

भदौ २३ गते अदालतले मुद्दा तामेलीमा राखिदिएपछि काम गर्ने बाटो खुलेको थियो । कानुनी भाषामा सामान्यतः तामेली भन्नाले कुनै काम सम्पन्न भइसकेको वा मुद्दाको रोहमा अब थप कुनै निर्णय गर्न नपर्ने गरी मुद्दा टुग्याउने कार्य भन्ने बुझिन्छ ।

जीर्ण सडक मर्मतका लागि वीरगञ्जका मेयर राजेशमान सिंह, पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले पनि चासो राख्दै आएका थिए । यादवले साउन २८ गते तिलावे पुल उदघाटनका लागि आएका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री इस्तियाक राईलाई लगेर नाका क्षेत्रको स्थलगत अवलोकन गराएका थिए । राईले एक साताभित्र काम शुरु गराउने प्रतिबद्धता जनाए पनि काम भने शुरु हुन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल पनि जीर्ण सडक मर्मत गराउन पहल गरेका थिए ।

काम शुरु भएपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक सञ्जाल फेसबुकमा सबैको प्रयासले वीरगञ्जको मितेरी पुल–शंकराचार्य सडकखण्ड कालोपत्रे गर्ने कार्य शुरु भएको लेखेका छन् ।

Leave a Reply