काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ ।असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन आज दशैंको टीकाको दिन कोशी प्रदेशबाट समेत बाहिरिएको हो ।
जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन जारी गरी नेपालबाट मनसुन बाहिरिएको जानकारी दिएको छ ।जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ ।नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यसवर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।
यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो गरी मनसुन पूर्णरुपमा बाहिरिएको हो । नेपालमा यो वर्ष १२४ दिनसम्म मनसुन रह्यो ।
असोज दोश्रो साता अविरल वर्षासँगैआएको बाढी पहिरोका कारण नेपालमा २४० भन्दा बढीको ज्यान गएको छ भने अर्बौको भौतिक क्षति भएको अनुमान छ।
नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ । यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म (जुन २४ देखि सेप्टेम्बर ४सम्म) मात्र मनसुन कायम थियो ।पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।
मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ ।